अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१९ | Colorodo: 02:34

अनेसास उत्तर अमेरिका क्षेत्रमा विशेष कार्यशाला गोष्ठी सम्पन्न

लक्ष्मण न्यौपाने २०७७ फागुन १६ गते १९:२४ मा प्रकाशित

सिकागो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उत्तर अमेरिका क्षेत्रीय समितिद्वारा ज़ूम भर्चुअल प्रविधिको प्रयोग गरी आइतबार ‘प्रभावकारी बैठक प्रक्रिया’ विषयमा, विशेष कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ । नेपाली भाषा, साहित्यको संरक्षण र संवर्धनको विशाल उद्देश्य बोकेर अघि बढिरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आफ्ना च्याप्टरहरूको संस्थागत विकासलाई अझ प्रभावकारी र दिगो बनाएर अगाडि बढाउन चाहिने महत्त्वपूर्ण नियम र विषयहरूमा उक्त विशेष कार्यशाला गोष्ठीको आयोजना गरेको हो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उत्तर अमेरिका क्षेत्रका अठार च्याप्टरहरूबाट ५१ जना च्याप्टर पदाधिकारीहरू तथा केन्द्रीय पदाधिकारीहरू र बीओटीका पदाधिकारीहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष, गोवर्धन पूजाले अध्यक्षता गरेका थिए भने कार्यक्रम सञ्चालन केन्द्रीय उपाध्यक्ष, अमेरिकाका क्षेत्रका संयोजक राजेन्द्र श्रेष्ठले गरेका थिए । बीओटी सभापति गीता खत्रीले शुभकामना दिएर अघि बढेको उक्त कार्यक्रममा पूर्व केन्द्रीय अध्यक्ष तथा बीओटी उपाध्यक्ष पदम विश्वकर्मा तथा बीओटी उपाध्यक्ष, पुरु सुवेदी, बीओटी सदस्य तीर्थ अधिकारीलगायत संस्थामा लामो समयदेखि लागि परेका विशिष्ट साहित्यिक व्यक्तित्वहरू तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रशिक्षक द्वय, लायन्स क्लब एवम् नेपाल जेसिस लगायत विभिन्न सामाजिक क्षेत्रमा लामो अनुभव सँगालेका राजेन थापा र राज श्रेष्ठको परिचय दिँदै अनेसास केन्द्रीय सदस्य निजान्नाद मल्लले कार्यक्रमको महत्त्व र आवश्यकता बारे प्रकाश पारेर अघि बढाइएको उक्त कार्यक्रममा संस्थालाई नियम, विधि र प्रक्रियामा बाँधेर व्यवस्थित रूपबाट अगाडि लगेर मात्रै संस्थाको दिगो विकास हुन सक्ने कुरामा प्रशिक्षक द्वय राजेन थापा र राज श्रेष्ठले नब्बे मिनेट लामो पेर्जेन्टेशनको दौरानमा विशेष ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा संस्थालाई कसरी विधिवत् सञ्चालन गर्ने भन्ने कुरा माथि प्रकाश पार्दै ‘रोबर्ट रुल अफ अर्डर’ मा रहेर निर्णयहरू, प्रस्तावहरूलाई विधि पूर्वक अगाडि बढाउनका लागि कसरी महत्त्व पूर्ण भूमिका खेल्न सकिन्छ भन्ने विषयमा तयार परिएको विशेष पावर-पोईंन्ट प्रेजेन्टेसन प्रस्तुत गर्दै अंतर्कियात्मक छलफल गरिएको थियो । सबैले अपनत्व महसुस हुने गरी सबैलाई सहकार्य गर्दै सबैको निर्णयलाई सम्मान गर्दै बहुमतका आधारमा अल्पमतको पनि कदर गर्दै संस्थागत विकासका लागि सबै निर्णयहरू बिधिवत गरिनुपर्छ भन्ने कुरामाथि उनीहरूको विशेष जोड थियो । संस्थाका उद्देश्यहरू माथि प्राथमिकताका आधारमा विभाजन गरेर उचित ब्यवस्थापनसंगै समस्या तथा विवादहरूलाई समाधान गर्ने उचित विकल्प निकालेर संस्था अघि बढ्नु पर्ने कुरामा पनि विशेष जोड थियो । संस्थालाई सहज र सरल तरिकाबाट अगाडि बढाउन धेरै महत्त्वपूर्ण जानकारीहरू गोष्ठीमा राखिएको थियो ।

कार्यक्रमको अन्त्यमा प्रशिक्षक द्वय राजेन थापा र राज श्रेष्ठद्वारा दिइएको आजको प्रशिक्षणले उपस्थित सबैमा धेरै जानकारी मिलेको कुरा बीओटी उपाध्यक्ष द्वय पदम विश्वकर्मा तथा पुरु सुवेदी र यसै गरी केन्द्रका महासचिव सर्वज्ञ वाग्ले, कोषाध्यक्ष, कृष्ण गिरी लगायत च्याप्टरहरूको तर्फबाट हरिमाया अधिकारी, तिलक कार्की तथा दीप कार्कीले आभार व्यक्त गरेका थिए ।

अनेसासको तर्फबाट संयोजकले स्रोत व्यक्तित्वहरूको यस विशेष योगदानको कदर गर्दै स- सम्मान कदर पत्र प्रदान गरिएको थियो । कदर पत्र समितिका सदस्य सचिव, ईश्वर बगालेद्वारा पढेर सुनाइएको थियो ।

कार्यक्रमको अन्त्यमा कार्यक्रम समापन गर्दै अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले अनेसासको दिगो संस्थागत विकासका लागि यस्ता गोष्ठीहरूको निकै महत्त्वपूर्ण भूमिका रहने हुँदा आगामी दिनमा अन्य क्षेत्रीय समितिका प्रतिनिधिहरूलाई पनि यस किसिमको प्रशिक्षणको व्यवस्था गरिने बताउँदै सहभागी र संयोजनमा सहयोग पुर्‍याउने सम्पूर्णलाई धन्यवाद दिएका थिए ।

सम्बन्धित सामग्रीहरू