अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३५ | Colorodo: 04:50

नर्थ क्यारोलाइनामा डा. ऋषि बस्ताकोटीको गीत लोकार्पण तथा छन्द कविता सम्बन्धी भर्चुअल छलफल सम्पन्न

बिआरटीनेपाल २०७७ मंसिर २९ गते २१:२७ मा प्रकाशित

नर्थ क्यारोलाइना नेपाली साहित्य समाज, अनेसास नर्थ क्यारोलाइना च्याप्टरको आयोजनामा डा.ऋषि बस्ताकोटीको नयाँ गीतको लोकार्पण हुनुको साथै छन्द कविता सम्बन्धी भर्चुअल छलफल कार्यक्रम सम्पन्न भयो ।

दुई चरणमा विभाजित कार्यक्रमको पहिलो चरणमा नेपाली गजलको आकाशमा निरन्तर चम्किरहनुभएका डा. ऋषि बस्ताकोटीको गीत “थियौ तिमी दिलमा” को लोकार्पण संस्थाका सल्लाहकार डा.नारायण राजभण्डारीले युट्युबबाट गर्नुभयो । राज सिग्देलको आवाज र राजेश थापाको सङ्गीतमा बाहिर आएको गीतका रचनाकार डा.बस्ताकोटीको परिचय दिँदै डा.राजभण्डारीले वहाँले हामी सबैलाई छुने गीत लेख्नुभएको छ भन्नुभयो ।

सङ्गीतकार राजेश थापाले कोरोनाको महामारीमा गीत रेकर्ड गर्दा भएका दुखहरू बताउँदै यो गीतले वहाँ आफैलाइपनि छोएको कुरा बताउनु भयो । यस्तै डा.अच्युत शर्माले धेरै म्युजिकहरूले थेरापीको काम गर्छन्, ऋषिको गीतलेपनि बिछोडको पिडामा हुनेहरूलाई थेरापीको काम गर्नेछ भन्नुभयो भने नम्रता गुरागाईंले सफल लेखकसङ पात्रको गहिराइसम्म पुगेर उसमा भएका पिडाका उथलपथललाइ सजिलै उतार्ने क्षमता हुन्छ जुन पिडा कतै कथा भएर आउँछ त कतै गीत भएर बाहिर आउँछ । बाहिर आउँदा एउटाको मात्र नभएर धेरै धेरैको भएर आउँछ र यो क्षमता डा.बस्ताकोटीमा धेरै पहिलादेखि नै रहेको छ भन्नुभयो ।

कार्यक्रमको दोस्रो चरणमा प्राध्यापक तथा साहित्यकार पीताम्बर शर्मा दाहालले नेपाली साहित्यमा छन्दको प्रयोगको बारेमा विस्तृत जानकारी गराउनुको साथै धेरै वर्षदेखि ओझेलमा परेको छन्द कविता अहिले फेरी बौरिएर आउनु भनेको त्यसको लय र वाचन गर्ने कला नै हो भन्नुभयो । उहाँका विचारमा छन्द कवितालाई राम्ररी वाचन गर्न जानिएन भने त्यो तमसुक पढेजस्तो निरस हुन्छ तर वाचन कला राम्रो छ भने छन्दका मात्रा अलिअलि बिग्रिए पनि त्यसको वाचन कलाले त्यसलाई छोपेको हुन्छ भन्नुभयो । आफ्नो ८२ वर्षको उमेरमा पनि विश्वविद्यालयमा पढाए झैँ निरन्तर विभिन्न छन्दका उदाहरणमा आफैले लेखेका छन्द कविताका उदाहरण दिने प्राध्यापक दाहालको उत्साह देख्दा उपस्थित सबैजनालाइ आश्चर्य लागेको थियो । वहाँले वाणिक छन्दका हालका चलनचल्तीका छन्दहरू अनुष्टुप् छन्द, मनोरमा, इन्द्र बज्रा, उपेन्द्र बज्रा, स्वागता, बुझंगप्रयात, सग्बृणी, वसन्ततिलका, मन्दाक्रान्ता, शिखरिणी, स्रग्धरा, सार्दुलाविक्रित , मालिनी र शालिनी छन्दहरूका बारेमा विस्तृत रूपमा जानकारी गराउनुभयो । वहाँले सबैभन्दा छोटो एक अक्षरको छन्द देखि लिएर सबैभन्दा लामो २६ अक्षरको सम्म छन्द भएको कुरा पनि बताउनु भयो । छन्दको बारेमा आफ्ना विभिन्न जिज्ञासा राख्नेहरू क्रमशः निर्मला राजभण्डारी, विक्रम गौतम, ईश्वर देवकोटा, ददिन पाण्डे र उमा शर्मालाई चित्तबुझ्दो उत्तर दिने साहित्यकार दाहालले सबैलाई लेखिरहन आग्रह गर्नुभयो ।

प्राध्यापक तथा साहित्यकार दाहालले आफ्नो ८२ वर्षको उमेरमा ८२ वर्षको कविता लेख्छु भनेर बसेको तर लेख्दै जान्दा आफ्नै जीवन यात्राको महाकाव्य हुन लागेको कुरा बताउन भयो । जीवन यात्राको महाकाव्यको ९ सर्ग सकेर दसौँ सर्ग लेख्दै गर्नुभएका प्राध्यापक दाहालज्यूलाई जीवन यात्राको पूर्णताको अग्रिम बधाई तथा शुभकामना !

नम्रता गुरागाईंको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष शिशिर खनालले गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा कविता वाचन कार्यक्रम तथा कवितामाथि टिप्पणी राखिएको थियो । कविता वाचन गर्नेहरुमा ददिन पाण्डे, सल्लाहकार नगेन्द्र न्यौपाने, रमेश गौतम, भगवती न्यौपाने, डा.ऋषि बस्ताकोटी, सल्लाहकार ईश्वर देवकोटा, निर्मला राजभण्डारी, शिशिर खनाल, सुजाता ढुङ्गेल, उमा शर्मा र नम्रता गुरागाईं हुनहुन्थ्यो । उक्त कार्यक्रममा वाचन गरिएका सबै कविताहरूलाई ध्यान दिएर सुनेर प्राध्यापक दाहालले सबैले आफूलाई आफ्ना कवितामा प्रस्तुत गर्नुभएको छ, जब कविले आफ्नो रचनामा आफूलाई प्रस्तुत गर्छ त्यति बेला उ सफल कवि हुन्छ भन्नुभयो ।

उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका आजीवन सदस्य तथा लस एन्जलस च्याप्टरका उपाध्यक्ष रहिसक्नु भएका श्री प्रकाशचन्द्र घिमिरेको असामयिक निधनप्रति हार्दिक समवेदना प्रकट गरियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू