अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३५ | Colorodo: 05:50

डा. गोविन्द केसीद्धारा १९ औं सत्याग्रह अन्त्य

बिआरटीनेपाल २०७७ असोज २५ गते ७:२६ मा प्रकाशित

डा. गोविन्द केसीले १९ औँ सत्याग्रह अन्त्य गर्नुभएको छ । आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा डा. केसीले जुस सेवन गरेर अनशन तोड्नुभएको हो । चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनशनरत डा. केसी र सरकारबिच शनिबार मध्यरातमा ८ बुँदे सहमति भएसँगै अनशन तोडिएको हो।

डा. केसीले १९ औँ पटकको सत्याग्रह जुम्लाबाट सुरु गर्नुभएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई नेपालगञ्ज हुँदै काठमाडौँ ल्याइएको थियो । सरकारसँग सहमति भएपछि उनी २७ औँ दिनमा अनशन तोड्न सहमत हुनुभएको हो । डा. केसी र सरकारबिच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार एवम् जनशक्तिको प्रबन्ध गरी आउँदो शैक्षिक सत्रदेखि एमबिबिएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, पिसिआर परीक्षण बढाउने तथा कोभिड–१९ तथा अन्य रोगको उपचारका लागि सरकारी अस्पतालको क्षमता बिस्तार गर्ने, अछामको बयलपाटा अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा दिन बजेट व्यवस्था गर्ने सहमति भएको छ।

यस्तै विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लागि प्रस्तावित उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य प्रतिष्ठानसम्बन्धी विधेयकको तीन साताभित्र सुझाबसहितको मस्यौदा तयार पार्ने, कानुनी व्यवस्था नहुन्जेल वरिष्ठता र कार्यक्षमताका आधारमा पदाधिकारी नियुक्त गर्ने  तथा राष्ट्रिय चिकित्सा ऐन संशोधन गर्न गठित कार्यदलको क्षेत्राधिकारभित्र सरकार र डा. केसीबीच १० साउन २०७५ मा भएको सम्झौता अनुसार छुट भएका विषयलाई समेत राख्ने, स्नातकोत्तर तहको सिट विभाजनमा चिकित्सा शिक्षा आयोगको परामर्शमा पुनरावलोकन गर्ने सहमति पनि भएको छ । सबै सहमति कार्यान्वयन गर्ने सहमति पनि सरकार र डा. केसीबीच भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू