अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४८ | Colorodo: 12:03

अमेरिकी नागरिकता कानुनमा कडाई, कम्युनिष्ट पार्टीका सदस्यले ग्रिनकार्ड नपाउने

बिआरटीनेपाल २०७७ असोज १९ गते २:०२ मा प्रकाशित

अमेरिकाले कम्युनिष्ट पार्टीको सदस्य रहेका व्यक्तिलाई ग्रिनकार्ड नदिने प्रष्ट गरेको छ । नागरिकता र आप्रवासीसम्बन्धि नीति पुनरावलोकन गर्दै अमेरिकी सरकारले सर्वसत्तावादी निरंकुश पार्टीका सदस्यहरुलाई रोक लगाइने जनाएको हो ।युएस सिटिजन एण्ड इमिग्रेसन सर्भिसले कम्युनिष्ट वा सर्वसत्तावादी निरंकुश पार्टीका सदस्यलाई ग्रिनकार्डबारे सम्बोधन गर्न नयाँ निर्देशिका नै जारी गरेको हो ।

अमेरिकाको शान्ति सुरक्षाको जोखिम सम्बोधन गर्न कम्युनिष्ट वा निरंकुश पार्टीका सदस्यलाई ग्रिनकार्ड नदिन अमेरिकी संसदले सन् १९५० मै पारित गरेको कानुनमा घरेलु वा विदेशी कम्युनिष्ट वा निरंकुश पार्टीमा आवद्ध रहेका वा सदस्य आप्रवासी, अमेरिकामा ग्रिनकार्ड प्राप्त गर्न अयोग्य हुने उल्लेख छ ।नयाँ निर्देशिकाले भने कस्तो अवस्थामा अयोग्य हुने र कस्तो अवस्थामा तिनीहरुले ग्रिनकार्ड पाउन सक्ने भन्ने विस्तृत व्याख्या गरेको छ । जसअनुसार आवेदक संलग्न पार्टी कम्युनिष्ट वा निरंकुश होइन भने ग्रिनकार्ड पाउन सक्ने भनिएको छ ।

आवेदक संलग्न पार्टी कम्युनिष्ट वा निरंकुश भएको ठहरिए ती पार्टीमा आवेदकको संलग्नता सदस्य स्तरको हो वा होइन हेरी सदस्यता स्तरको नभए ग्रिनकार्डका लागि योग्य मानिने जनाइएको छ ।

आवेदकको संलग्नता सदस्यता स्तरको भएमा त्यो कति अर्थपूर्ण हो निर्क्यौल गरी अर्थपूर्ण नठहरिए ग्रिनकार्ड दिन सकिने उल्लेख छ । तर अर्थपूर्ण सदस्यता भएपनि त्यो आवेदकको इच्छाविपरित थियो, सदस्यता लिँदाको उमेर १६ वर्ष मुनिको थियो भने ग्रिनकार्ड पाउन सक्ने भनिएको छ ।केही विषयमा भने खुकुलो प्रावधान लिएको देखिन्छ । कम्युनिष्ट वा निरंकुश पार्टी सदस्य बन्नुमा खाना, रोजगारी वा जिविकोपार्जन जस्ता बाध्यताबाट सृजित थियो भने उसले ग्रिनकार्ड पाउन सक्छ । आवेदकको सदस्यता दुई बर्ष अगावै खारेज भइसकेको भए पनि ग्रिनकार्डका लागि योग्य हुनसक्ने व्यवस्था गरिएको छ ।

कम्युनिष्ट वा निरंकुश पार्टीको सदस्यता रहेको तर अहिले उसबाट अमेरिकाको राष्ट्रिय सुरक्षामा कुनै जोखिम नठानिए ग्रिनकार्डका लागि योग्य मानिने छ । अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा नभएमा अमेरिकी ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीले पनि छुट पाउने भनिएको छ ।आवेदक अमेरिकी नागरिकको बुबाआमा, दम्पत्ति, छोरा, छोरी, भाइ, बहिनी हो भने विगतमा कम्युनिष्ट वा निरंकुश पार्टीको सदस्य रहे पनि अमेरिकी ग्रिनकार्डका लागि छुट पाउनसक्नेछ । राष्ट्रिय सुरक्षामा खतरा भए नभएको निर्धारणका आधार भने उक्त व्यक्ति जासुस, आतंकवादी, सूचना सुरक्षामा जोखिमपूर्ण, जनस्वास्थ्यमा जोखिमपूर्ण, चुनाव सुरक्षामा जोखिमपूर्ण भए नभएकोलाई लिइनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू