अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०८ | Colorodo: 06:23

मान्छे सबै देउता

सुदीपभद्र खनाल २०७७ असोज १२ गते २१:२४ मा प्रकाशित

छन्द: शार्दूलविक्रीडित

यस्ता शव्द चुनेर लेख्न म सकूँ अन्तर्य होस् झङ्कृत
मान्छेका मन छोइयोस् सरसता फैलोस् उज्यालोसित
सञ्चो होस् सब दर्द आर्तन घटोस् मान्छे बनोस् संस्कृत
फैलोस् मानवता र प्रेम चुलियोस् होस् सभ्यता सुस्मित

मान्छे हिर्दयमा विकार नभरुन् चैतन्य ज्योतिस्मित
दु: खीका घरमा पुगीकन गरूँ सेवा म श्रद्दासित
कोही दीन र हीन बन्न नपरोस् होस् न्याय विस्तारित
शिक्षाको नव रश्मि साथ युगका शिल्पी बनुन् जागृत

मेरो कर्म सुकर्म होस् जति सक्यो बाँडू म हाँसो खुशी
आफू हाँस्न प्रभो किमार्थ नगरूँ अन्यायको पैरवि
सोझाको मनको म आँसु नबनूँ भोकै मरूँ मै बरू
हे राधापति मोह माद नबढुन् मेरो बचोस् आवरु

मैले देख्न कतै किमार्थ नपरोस् भोका र नाङ्गाहरू
च्याप्ने बालक काखमा दुधमुखे भो भीखमङ्गाहरू
मेरो ज्ञान सुभा प्रमाद नबनोस् जो सक्छु सेवा गरूँ
सोझा, सज्जन, साधुका हृदयको आर्जेर श्रद्दा मरूँ

पूजा गर्न सकूँ म सत्य,श्रमको सत्कर्म सत्धर्मको
मान्छेका मन जित्न सार्थक गरूँ सेवा सधैँ लोकको
मेरो धर्म मनुष्यता अवनिका मान्छे सबै देउता
बाँडी प्रेम दया विवेक जनमा हाँसेर मागूँ विदा