अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२३ | Colorodo: 02:38

नेपाल हाम्रो मनको विशाल

सुदीपभद्र खनाल २०७६ फागुन १२ गते १५:०५ मा प्रकाशित

उपत्यका छन् छ पहाड धेरै
घेरो तराई अनि दुन थोरै
अग्लो जगत्मै हिमशैल भाल
नेपाल हाम्रो मनको विशाल

यो वीरको ठाउँ अजेय देश
यो बुद्धको हो प्रिय जन्म देश
रारा र फेवा’मरु झ्या’छ झ्याल
नेपाल हाम्रो मनको विशाल

छन् फूलमाला सरि जातजाति
संस्कार या चाड छ भाँतिभाँति
छन् तीन गङ्गा हिमको छ ताल
नेपाल हाम्रो मनको विशाल

लाखौँ जीवात्माहरूले धनी छ
नामी इमानी श्रम सीपले छ
गुराँसको लेक र कन्दमूल
नेपाल हाम्रो मनको विशाल

मनुष्यताको चुली अग्लिएको
र सत्यको ज्ञान सुधा पिएको
सौन्दर्यले प्राकृत यो कमाल
नेपाल हाम्रो मनको विशाल

अनेक भाषा र अनेक भेष
विभिन्नतामै पनि देश एक
बढ्दै अगाडि छ लिँदै छ चाल
नेपाल हाम्रो मनको विशाल