अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४० | Colorodo: 21:55

ए बा ए बा मलाई त्यै सिङ्गो नेपाल चाहियो

सुदीपभद्र खनाल २०७६ कार्तिक २७ गते १०:४७ मा प्रकाशित

पुर्ख्यौली गाउँ कै मिठो पानीको मूल चाहियो
हजार पत्रको यौटै हजारी फूल चाहियो
काँडे भ्याकुरको नाच डम्फुको ताल चाहियो
ए बा ए बा मलाई त्यै सिङ्गो नेपाल चाहियो

जे सुकै तन्त्र जीवन्त धर्म संस्कृति चाहियो
त्यै माटीको जहाँ टेकुँ सुवास दीप्ति चाहियो
जानकी र गढीमाई कुमारी रथ चाहियो
ए बा ए बा मलाई त्यै सिङ्गो नेपाल चाहियो

कोशीका धार झैँ बग्ने देश जीवन्त चाहियो
माछापुच्छ्रे सरी माथ धीर गम्भीर चाहियो
इन्द्रेणी भेष भाषाको जातिको रङ्ग चाहियो
ए बा ए बा मलाई त्यै सिङ्गो नेपाल चाहियो

स्वयम्भूको सरी आँखा बुद्धको दृष्टि चाहियो
उजीरसिँहझैँ वीर उदात्त सृष्टि चाहियो
लालीगुराँसको रङ्ग रारा सैपाल चाहियो
ए बा ए बा मलाई त्यै सिङ्गो नेपाल चाहियो

कर्णालीको सरी आँट नाघ्ने पहाड चाहियो
दसैँ तिहार ल्होसार मारुनी नाच चाहियो
त्यै फेवा दोहोरी कौरा देउडा गीत चाहियो
ए बा ए बा मलाई त्यै सिङ्गो नेपाल चाहियो