अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५४ | Colorodo: 01:09

एमी कोनी ब्यारेटलाई सर्वोच्चको न्यायाधीश बनाउने राष्ट्रपति ट्रम्पको प्रस्ताव

बिआरटीनेपाल २०७७ असोज ११ गते १:०२ मा प्रकाशित

अमेरिकी सर्वोच्च अदालतको नयाँ न्यायाधीशका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले एमी कोनी ब्यारेटलाई नियुक्त गर्ने प्रस्ताव गर्नुभएको छ । सामाजिक रुढीवादीहरुकी प्रिय एमीलाई ट्रम्पले उदारवादी न्यायाधीश रुथ बेडर गिन्सबर्गको स्थानमा नियुक्त गर्न मनोनित गर्नुभएको हो । ह्वाइट हाउसको रोज गार्डेनमा मनोनयन घोषणा गर्दै ट्रम्पले एमीलाई अपूर्व उपलब्धी हाँसिल गर्ने महिलाका रुपमा परिभाषित गर्नुभयो ।

माथिल्लो सदन सिनेटमा हुने सुनुवाईले उहाँको नाम पारित गरेमा एमीले सर्वोच्च अदालतमा दिवंगत न्यायाधीश गिन्सबर्गको स्थान लिनुहुने छ । गिन्सबर्गको ८७ वर्षको उमेरमा गएको हप्ताको शुक्रबार निधन भएको थियो।

ट्रम्पले आइतबार एमीको नाम प्रस्ताव गर्दै उहाँ संविधानप्रति अटूट निष्ठा राख्ने व्यक्ति रहेको बताउनुभयो । डेमोक्र्याटहरुले चुनावको मुखैमा खाली भएको न्यायाधीशको नियुक्ति चुनावपछि मात्रै हुनु पर्ने बताउँदै आएका छन् । तर चार वर्षअघि चुनाव भन्दा १० महिनाअघि नै खाली भएको पदमा नियुक्ति गर्न खोज्दा सिनेटमा रिपब्लिकन नेताले चुनाव वर्षमा नियुक्त गर्न नहुने भन्दै रोकेका थिए।

अहिले भने तिनै नेताले जति सक्दो चाँडो सुनुवाई प्रक्रिया सकेर नियुक्ति प्रक्रिया पूरा गर्ने बताएका छन्। सिनेटमा रिपब्लिकनको बहुमत छ। प्रस्तावित न्यायाधीशको नाम पास गर्नका लागि सामान्य बहुमत भए पुग्छ।

अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपति चुनाव हुँदैछ । डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले सिनेटले अमेरिकी जनताले आफ्नो नयाँ राष्ट्रपति चयन नगरेसम्म खाली न्यायाधीश पदका लागि हुने नियुक्ति प्रक्रिया सुरु नगर्न आग्रह गर्नुभएको छ । संविधानले जनतालाई अदालतमा को न्यायाधीश बन्ने भन्ने निर्यण गर्ने अधिकार दिएकाले त्यसको सम्मान गरिनु पर्ने उहाँले बताउनुभयो ।

एमी नियुक्त भएमा अमेरिकाको सर्वोच्च अदालतमा कन्जरभेटिभ न्यायाधीशको ६–३ को बहुमत हुन्छ। ४८ वर्षकी एमी नियुक्त भएमा ट्रम्पले सर्वोच्चमा नियुक्त गरेको तेस्रो न्यायाधीश बन्नुहुने छ । अमेरिकाको संविधान अनुसार सर्वोच्च अदालतमा न्यायाधीशले जीवनभर सेवा गर्न पाउँछन्। उनीहरुको फैसलाले बन्दुकदेखि मताधिकार, गर्भपतनसहितका सार्वजनिक जीवनका सबै पक्षमा प्रभाव राख्छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू