अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५६ | Colorodo: 01:11

राजमित्र स्मृति पुरस्कार वितरण तथा साहित्यिक कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७७ असोज ५ गते १२:०९ मा प्रकाशित

बोस्टन, अमेरिका । राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठान बोष्टनले गत छ वर्षदेखि मोती जयन्तीको अवसरमा प्रदान गर्दै आएको राजमित्र पुरस्कार यस वर्ष साहित्यकार महेश्वर पन्तलाई प्रदान गरेको छ । पन्त विगत तीन दशकदेखि नेपाली भाषा साहित्यको सेवामा संलग्न छन् । उनको सामाजिक उपन्यास“फुर्लुङ” भर्खरै प्रकाशित छ भने “मुन्द्री” र “नबोल्नेहरू “कथासङ्ग्रह पनि प्रकाशित छन् । उनका  गीति एल्बम , कविता  ग़ज़ल पनि प्रकाशित छन् । बोष्टनमा बसेर साहित्यिक साधनामा लागिरहेका महेश्वर अहिले एन्आरएनअमेरिकाको भाषा साहित्य संस्कृति संरक्षण संवर्धन समितिको उप सभापति छन् भने गायन र सङ्गीतमा पनि उत्तिकै सक्रिय छन् । पुरस्कारको राशि २५१ अमेरिकी डलर रहेको छ |
त्यसै गरी नेपाली लोक बाजा सारंगी र मुर्चुङ्गाको कुशल प्रयोगकर्ता सुशील गौतमलाई पनि आज सम्मान गरिएको छ । सारंगी प्रशिक्षणका लागि उपयोगी किताब समेत प्रकाशित गरेका गौतम मुर्चुङ्गा वादनमा त्यत्तिकै पोख्त छन्।

कार्यक्रमका प्रमुख अतिथि एन्आरएनए आइसीसी सदस्य तृष्णा शर्माले एन्आरएन्एले नेपाली भाषा साहित्य र संस्कृतिको संवर्धन तथा संरक्षणमा थुप्रै कामहरू गरिरहेको  चर्चा गर्दै त्यस कार्यमा यस राजमित्र प्रतिष्ठानले पनि त्यस्तै एउटा पानामा काम गरिरहेको भन्दै संस्थाका संस्थापक सुशील नेपाललाई धन्यवाद ज्ञापन गरिन्।

कार्यक्रमका विशेष अतिथि अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष साहित्यकार गोवर्धन पूजाले पुरस्कृत व्यक्तित्व पन्तका बारेमा प्रकाश पार्दै सबै साहित्यिक संस्थाको उद्देश्य नेपाली भाषा साहित्यको सेवा गर्नुका साथै साहित्यकारहरूको दुःखसुखमा पनि साथ दिनु  हो भने ।

अनेसास केन्द्रीय महासचिव साहित्यकार सर्वज्ञ वाग्लेले पुरस्कारका दाता सुशील नेपालका पिता राजेन्द्रप्रसाद नेपाल प्रजातन्त्रका योद्धा हुनुभएको र वहाँको नाममा स्थापित यस संस्थाले अब बोष्टन बाहिरका साहित्यकारलाई पनि सम्मान गर्दा समयोचित न्याय हुनेछ भन्ने विचार राखे।

पुरस्कृत साहित्यकार महेश्वर पन्तले आफू यसरी पुरस्कृत हुनुले जिम्मेवारी थपिएको महसुस भएको बताउँदै प्रेरणा पनि मिलेको बताए । त्यसै गरी अभिनन्दित सारंगी तथा मुर्चुङ्गा वादक सुशील गौतमले मुर्चुङ्गा र सारङ्गीले हरेक मान्छेको मन छुन सक्छ , त्यसैले यस्ता वाद्य वादनलाई लोप हुनबाट जोगाउन हामीले यस्ता सम्मानले पनि टेवा दिने बताए ।

राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानका संस्थापक सुशील नेपाल तथा ईश्वरी अधिकारी नेपालले अब अक्षय कोषको राशि बढाएर बोष्टन बाहिरका साहित्यकारहरूलाई पनि विशेष सम्मान गर्ने बताए ।

संस्थापक सुशील नेपालका सुपुत्र सौहार्द नेपालले हजुरबा र हजुर आमाको नाममा आफ्ना मातापिताले स्थापना गरेको संस्थालाई निरन्तरता दिन सक्दो सहयोग गर्ने बताए।

पुरस्कारको  निर्णायक समितिका सदस्य  लालगोपाल सुवेदी र दीपा राई पुनले यस वर्ष पुरस्कृत व्यक्तित्वको छनौट गर्न निक्कै गारो परेको बताए ।

कार्यक्रमका सभापति तथा संस्थाका सभापति कवि हरिप्रसाद काफ्ले” शैव”ले प्रकाशोन्मुख स्मारिकामा जसको नामबाट यो साहित्यिक संस्था स्थापना गरिएको छ वहाँ राजेन्द्र प्रसाद नेपाल र मित्रविन्दा नेपालका बारेमा अध्ययन अनुसन्धान गरिएका विशेष लेखहरू समेटिने बताए । उनले संस्थाले मासिक साहित्यिक कार्यक्रम गर्ने तयारी गरेको पनि जानकारी दिए  । यसै गरी संस्थाका उपसभापति तथा अनेसास बोष्टनका अध्यक्ष यम पौडेलले संस्थाको गतिविधि र बोष्टनको साहित्यिक जागरूकता बारे प्रकाश पार्दै पुरस्कार स्थापनाको बारेमा प्रकाश पारेका थिए |

कार्यक्रमको दोस्रो चरणमा साहित्यिक रचना वाचन पनि गरिएको थियो । कवि लालगोपाल सुवेदी , दीपा राई पुन , हरिमाया अधिकारी , ईश्वरी भट्ट, अग्नि पराजुली, ममता कर्माचार्य, महेश्वर पन्त, हरिप्रसाद काफ्ले “शैव” ले कविता ग़ज़ल वाचन गरे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू