अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२८ | Colorodo: 20:43

नेपालमा ‘प्राकृतिक विपत्तिबाट ३ सय ३९ जनाको मृत्यु’

बिआरटीनेपाल २०७७ असोज २ गते ७:४४ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो र चट्याङका कारण जेठ महिना यता ४९ जिल्लामा ३ सय ३९ जनाले ज्यान गुमाएको बताउनुभएको छ ।प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा उपस्थित हुनुभएका गृहमन्त्री थापाले देशभर गत वर्ष भन्दा कम क्षति भएपनि यसवर्ष जेठ महिना यता ४९ जिल्लामा ३ सय ३९ जनाले ज्यान गुमाएको बताउनुभयो ।

गृहमन्त्री थापाले प्रकृतिक प्रकोपका कारण एक सय भन्दा बढी मान्छे बेपत्ता भएको पनि बताउनुभयो । प्राकृतिक प्रकोपका कारण २ सय ५८ जना घाइते भएका छन भने ४ सय ८२ घर पूर्ण रुपमा क्षति भएको छ । प्राकृतिक प्रकोपमा परेकाहरुको व्यवस्थापनका लागि ‘विपद जोखिम व्यवस्थापन कोष’ बाट ५ करोड ६९ लाख रुपैयाँ राहत रकम निकासा गरी उपलब्ध गराइएको समेत गृहमन्त्री थापाले बताउनुभयो । प्राकृतिक प्रकोपबाट क्षति भएका संरचनाहरुको पूनर्निर्माणका लागि गृहमन्त्रालयले टोली गठन गरी अध्ययन गरिरहेको र प्रतिवेदन तयार भएपछि काम शुरु गरिने पनि गृहमन्त्री थापाले बताउनुभयो ।

थापाले जोखिममा रहेका बस्तीहरुलाई स्थानान्तरण गर्ने र पीडितहरुको इच्छाअनुसार सुरक्षित स्थानमा आवास निर्माण गर्ने गरी दुई प्रकृतिको नीति अनुसार काम गरिएको पनि स्पस्ट पार्नुभयो । जोखिम व्यवस्थापन तथा न्यूनिकरणका लागि पूर्वतयारीको कायमलाई विशेष जोड दिइएपनि अनुमान नगरिएका ठाउँमा समेत बाढी पहिरो जाँदा क्षति बढी भएको बताउनुभयो ।

बाढी पहिरो जानुको मुख्य कारण अव्यवस्थित रुपमा विना मापदण्ड वैधानिक सर्भे विपरित सडक बाटो खोल्ने क्रियाकलाप पनि मुख्य रहेको उहाँको भनाइ छ । त्यसको नियन्त्रणका लागि मापदण्ड अझ बढी कडा बनाउने विषयमा मन्त्रालयमा छलफल भइरहेको समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू