अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५८ | Colorodo: 04:13

नेपालमा कोरोना जोखिमको तहबारे थाहा पाउन ’सेरोलजिकल’ परीक्षणको तयारी

बिआरटीनेपाल २०७७ भदौ ३ गते ६:४६ मा प्रकाशित

कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ’सेरोलजिकल’ परीक्षणको तयारी गरेको छ ।सङ्क्रमणको जोखिम कुन तहसम्म पुगेको छ भनेर अध्ययन गर्न सेरोलजिकल परीक्षणको तयारी गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले जानकारी दिनुभयो ।

केही हप्तायता काठमाण्डौ उपत्यकालगायत देशभर सङ्क्रमण र मृत्युदर बढ्दै गएपछि महाशाखाले सेरोलजिकल परीक्षणको तयारी गरेको हो । सेरोलजिकल परीक्षणमार्फत ‘कति केसहरु समुदायमा छन् ? कस्तो अवस्थमा छ ?’ लगायत विषय पत्ता लगाउने उहाँले बताउनुभयो ।कालाजार, डेङ्गी र मलेरियालगायत महामारीको परीक्षणका लागि समेत प्रयोग हुने यो विधि कोरोना सङ्क्रमणको जोखिम कति छ भनेर अध्ययन गर्नका लागि प्रयोग गर्न लागिएको हो ।

९० जनाको नमुना एउटै ठाउँमा राखेर परीक्षण गरिने र एक दिनमा परीक्षण हुने उहाँले बताउनुभयो । परीक्षणपछि कुनै व्यक्तिमा सङ्क्रमण पहिले र अहिले छ कि छैन भन्ने कुरा यसले पत्ता लगाउने डाक्टर पाण्डेले बताउनुभयो । परीक्षणपछि समुदायमा कोरोना छ कि छैन ? कहिलेदेखि नेपालमा आएको हो ? कहिलेसम्म रहन्छ ? भन्ने प्रश्नहरुको जवाफ दिन सहज हुने उहाँले बताउनुभयो ।

पहिलो पटकका परीक्षणमा प्रारम्भिक सूचनाहरु सङ्कलन गर्न सहज भए पनि लगातार तीन वर्षसम्म निरन्तर परीक्षण गरिने उहाँले बताउनुभयो । रोगसँग डराएर सधैँ लकडाउन गरिराख्न नमिल्ने उल्लेख गर्दै उहाँले समुदायस्तरमा सचेतना अपनाउँदै कसरी जीवनयापन गर्ने भन्ने कुरालाई ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू