अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३९ | Colorodo: 07:54

अमेरिकामा कोरोनाः डेढ लाख बढी मानिसको मृत्यु, साढे ४५ लाख संक्रमित, साढे ५ करोडको परीक्षण

बिआरटीनेपाल २०७७ साउन १५ गते २३:४६ मा प्रकाशित

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म डेढ लाखभन्दा बढी मानिसको मृत्यु भएको छ ।वर्ल्डोमिटरका अनुसार अमेरिकामा अहिलेसम्म १ लाख ५५ हजार २ सयभन्दा बढीको मृत्यु हुँदा पछिल्लो ११ दिनमा मात्रै १० हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् ।

त्यही संक्रमित हुनेको संख्या पनि ४६ लाख नाघेको छ । कोरोनाको महामारी शुरू भएलगत्तै विज्ञहरुले अमेरिकामा कोरोनाका कारण कम्तीमा २ लाख ४० हजार अमेरिकीको मृत्यु हुनसक्ने चेतावनी दिएका थिए ।

राष्ट्रपति ट्रम्पले भने मृत्युको संख्या एक लाखमा सीमित गर्न सके निकै ठूलो प्रगति हुने बताउनुभएको थियो । तर मृत्युको ब्यारोमिटर थामिएको छैन र विज्ञहरुले दिएको चेतावनीको अंकतिरै लम्किरहेको छ ।

यद्यपि संसारमै सबैभन्दा बढी परीक्षण पनि अमेरिकाले नै गरेको छ । अहिलेसम्म ५ करोड ६६ लाखभन्दा बढी व्यक्तिको परीक्षण गरिएको जनाइएको छ ।शुरुदेखि नै लकडाउनको विरोधमा रहनुभएका राष्ट्रपति ट्रम्पको ढुलमुले नीतिकै कारण धेरै अमेरिकीको जीवन जोखिममा परेको भन्दै आलोचना भइरहेको छ ।

मास्क प्रयोग र सामाजिक दूरी कायम गर्न देखाइएको हेलचेक्र्याइले पनि यो भयावहको अवस्था आएको बताइन्छ । पछिल्लो २४ घण्टाको अवधिमा ६६ हजार बढी संक्रमित थपिएको र १४ सयभन्दा बढीको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ ।

प्रतिक्रिया