मनसुन फेरि सक्रिय भएकाले बाढी, पहिरो र डुबानको जोखिम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।सोमबार रातिदेखि नै मनसुन सक्रिय भएकाले देशका धेरै ठाउँमा पानी परेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।
प्रधानाङ्गका अनुसार विशेषगरी पूर्वका धेरै ठाउँमा पानी परेको छ । यस्तै सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा पनि पानी परेको छ । अरु प्रदेशका पनि विभिन्न ठाउँमा पानी परेको छ । तर कतै कतै भने नजिकै पानी परे पनि नजिकैको अर्को ठाउँमा भने पानी नपरेको पाइएको छ। गए राति पानी नपरेका ठाउँमा पनि बिस्तारै पानी पर्न थाल्ने मौसमविद् प्रधानाङ्गले बताउनुभयो ।
मनसुनकै प्रभावले मंगलबार बेलुकी र बुधबार केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको उहाँले बताउनुभयो । पानी धेरै पर्ने भएकाले यसअघि पहिरो गएका ठाउँ, भिरालो जमिन आसपास र नदी तटीय क्षेत्रका बासिन्दा सतर्क हुनुपर्नेछ ।
गएको २४ घण्टामा पोखराको लुम्लेमा १ सय ७१ दशमलव ७ मिलीमिटर र पोखरामा १ सय ४९ दशमलव ७ मिलीमिटर पानी परेको मापन गरिएको छ ।