अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४२ | Colorodo: 17:57

विदेशी विद्यार्थीलाई डिपोर्ट गर्ने योजनाबाट अमेरिका पछि हट्यो, विद्यार्थीलाई राहत

बिआरटीनेपाल २०७७ असार ३१ गते १:१० मा प्रकाशित

अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थीलाई डिपोर्ट (सम्बन्धित देश फिर्ता पठाउने) गर्ने योजनाबाट अमेरिका पछि हटेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले पूर्ण रुपमा अनलाइन कक्षा रहेका विदेशी विद्यार्थी अमेरिका बस्न नपाउने नियम ल्याएकोमा चौतर्फी आलोचना भएपछि ट्रम्प प्रशासन पछि हटेको दि न्यूयोर्क टाइम्सले जनाएको छ । सरकारको निर्णयविरुद्ध हार्वर्ड विश्वविद्यालय र मासाचुसेट्स इन्स्टिच्युड अफ टेक्नोलोजी (एमआइटी) ले अदालतमा मुद्दा हालेका थिए । तर ट्रम्प प्रशासनले निर्णय फिर्ता लिएपछि हार्वर्ड र एमआइटीले दायर गरेको मुद्दा सहमतिमा टुंगिएको मासाचुसेट्सका जिल्ला न्यायाधीश एलिसन बुरोजले बताउनुभयो ।

कोरोना भाइरसका कारण अनलाइन कक्षा लिने विश्वविद्यालय तथा शैक्षिक संस्थाका विदेशी विद्यार्थीले आफ्नै देश फर्किनु पर्ने नियम घोषणा गरेको एक हप्तामै ट्रम्प प्रशासन उक्त निर्णयबाट पछि हट्न बाध्य भएको हो । सहमति अनुसार विदेशी विद्यार्थी कानूनी रुपमा अमेरिकामै रहेर अनलाइनबाट पनि कक्षा लिन सक्ने छन् । अमेरिकाको इमिग्रेसन एण्ड कस्टम्स इनफोर्समेन्ट (आइसिइ) ले गत हप्ता पठन–पाठन पूर्ण रुपमा अनलाईन गरेका विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थी यो शरद ऋतुमा अमेरिका बस्न नपाउने नीति घोषणा गरेको थियो ।

नियम नमान्नेलाई डिर्पोट गर्ने चेतावनी आइसिइले बताएको थियो । कोरोना भाइरसको महामारीका कारण अमेरिकाका धेरै विश्वविद्यालयले कक्षा पूर्ण रुपमा अनलाईन बनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू