अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४६ | Colorodo: 04:01

सिएनएन हिरो सुर्खेतमा कोरोनापीडितलाई सहयोग गर्दै

बिआरटीनेपाल २०७७ वैशाख २६ गते ११:३२ मा प्रकाशित

सिएनएन । न्यु जर्सीकी म्यागी डोएन यति बेला नेपालमा छिन् । उनी त्यहाँका महिला र बालबालिकालाई कोरोना भाइरसबाट जोगाउन लागि परेकी छन् ।

म्यागीले सुर्खेतमा एउटा विद्यालय, एउटा महिला केन्द्र, एउटा सेफ हाउस र एउटा बालगृहमार्फत आफ्नो सामाजिक कार्यलाई निरन्तरता दिएकी छन् । ‘हाम्रो ढोकामा सहयोग माग्नेको भीड लाग्छ,’ २०१५ सिएनएन हिरो अफ द इयर म्यागी भन्छिन् ‘धेरै आमाहरू सङ्घर्ष गरिरहेका छन्, उनीहरू डराएका छन् । बालबालिका भोको छन् । मैले यस्तो कहिल्यै देखेको छैन ।’

म्यागीले बेबी सिटिङबाट कमाएको पैसाले १९ वर्षको उमेरमा सुर्खेतमा जमिन किनिन् । त्यहाँ उनले ब्लिंक नाउ फउण्डेन स्थापना गरिन् । सन् २००७ मा उनले आफ्नो संस्था, सुर्खेत र विश्वका विभिन्न ठाउँको मानिसको सहयोगमा कोपिला भ्याली चिल्ड्रेन होम नामक बालगृह स्थापना गरिन । आज सुर्खेतमा म्यागीको परिवार बढ्दो छ । उनी आफ्ना श्रीमान् र आफ्नो जैविक छोरी रुबीसहित ५४ बालबालिकासँग उक्त बालगृहमा बसोबास गरिरहेकी छन् । उनीहरू सबै त्यहाँ क्वारेन्टाइनमा छन् ।

क्वारेन्टाइनमा रहेका १२ जना कलेज पढ्ने विद्यार्थी हुन् । करिब ६० जनालाई क्वारेन्टाइनमा राखेर हेरचाह गर्नु, उनीहरूको अध्ययनलाई निरन्तरता दिनु सजिलो छैन । तर, उनीहरूसँग सिर्जनात्मक उपाय छ । आपत्कालीन अवस्थाका लागि राखिएको खाद्यान्न प्रयोग गरिरहेका उनीहरू आफ्नै बगैँचा र खेतीको उत्पादन पनि प्रयोग गरिरहेका छन् । बजारमा नपाइने सामाग्री उनीहरू आफ्नै बगैँचा र खेतीबाट आपूर्ति गरिरहेका छन् ।
‘हामी उपलब्ध स्रोत साधन र सामाग्रीको उच्चतम सदुपयोग गरिरहेका छौँ । दिनचर्या सामान्य राख्न अध्ययनको समय, खाने समय र सुत्ने समय निर्धारण गरेका छौँ,’ उनी भन्छिन्, ‘ब्रेड, बटर र एगबाट हामी दाल भातमा आइपुगेका छौँ । तर, हाम्रा बालबालिका आफ्नै खेतीका उत्पादन खान पाउँदा ज्यादै उत्साहित छन् ।’

उच्च जोखिममा रहेका समुदाय र मानिसलाई सहयोग गर्न म्यागीले आपत्कालीन सहयोग कार्यक्रम पनि सञ्चालन गरिरहेकी छन् । ढोकामा लाग्ने भीडलाई उनले आफ्नो फुड ब्याङ्कबाट खाद्यान्न वितरण गरिरहेकी छन् । त्यसका लागि उनले उपलब्ध सबै स्रोतबाट खाद्यान्न सङ्कलन गर्ने र विधुवा तथा एकल महिला र तिनका बालबालिकालाई खाद्यान्न उपलब्ध गराउने रणनीति लिएकी छन् । साथै, उनी जोखिममा रहेका परिवारलाई सुरक्षित राख्न स्वास्थ्य टोली परिचालन गरेकी छन् । ‘सक्ने जति सबै गरेका छौँ,’ उनी भन्छिन् ।
म्यागीसँग सिएनएनले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश:

प्रश्नः आवास गृह कसरी सञ्चालन गरिरहनु भएको छ ?
उत्तरः विश्वको यो ठाउँमा आवास गृह सञ्चालन गर्नु र लक डाउनमा बस्नु फरक छ । बिजुली गइरहन्छ । खाद्यान्नको अभाव भयावह छ । नगद रकमसम्म पहुँच छैन । मानिस काम गर्न सक्दैनन् । साबुन किन्न सक्दैनन् । पानी पर्याप्त छैन । सर्वसाधारणको घरमा घारा र शौचालय छैन । ज्यालादारीमा काम गर्ने र दैनिक २ अमेरिकी डलरभन्दा कम आय गरेर गुजारा गर्ने करोडौँ जनसङ्ख्याका लागि म ज्यादै चिन्तित छु । उनीहरू यति बेला गुजाराका लागि काम गर्न सकिरहेका छैनन् ।

प्रश्नः समस्यासँग कसरी जुधिरहनु भएको छ ?
उत्तरः ज्यादै गाह्रो छ । सबै कुरा बन्द गरिएको छ । बाहिर जाने र फर्किन सक्ने अवस्था छैन । संसारभर रहेका मानिसका लागि हामी चिन्तित छौँ । हामीलाई उपलब्ध सहयोग र मायाका लागि हामी आभारी छौँ । हामी आत्मावल बलियो बनाएर सक्दो होसियारीपूर्वक बस्ने प्रयत्न गरिरहेका छौँ ।

प्रश्नः अहिलेका मुख्य आवश्यकता के हो ?
उत्तरः खाद्यान्न हो । खाद्यान्न सकिँदै गएको छ । खाद्यान्नकै लागि मानिसका घरको ढोका फुटाइएको छ । मानिसहरू नुन र खोर्सानी खाएर गुजारा गरिरहेका छन् । हामी यति बेला ज्यादै सङ्कटपूर्ण अवस्थामा छौँ ।

खाद्यान्नका लागि आर्थिक सहयोग उठाउने कामलाई निरन्तरता दिनु ज्यादै आवश्यक छ । त्यसका लागि तपाईँ ब्लिंकनाउ डट ओआरजीमा जान सक्नुहुन्छ । हामी हरेक परिवारलाई स्थानीय किसानबाट किनेको तरकारी, २५ किलो चामल, ५ किलो दाल, तेल, नुन र साबुन वितरण गरिरहेका छौँ । सुरक्षाका लागि हामीले हाम्रो राहत वितरण कार्यक्रम सरकारी भवनमा सारेका छौँ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू