अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१६ | Colorodo: 05:31

अमेरिकाको मेरिल्यान्डमा ८२ वर्षकी हजुरआमाको कोरोनाबाट निधन

बिआरटीनेपाल २०७७ वैशाख १ गते २०:३२ मा प्रकाशित

अमेरिकाको मेरिल्यान्डमा कोरोना संक्रमणबाट ८२ वर्षकी नेपाली भाषी भुटानी हजुर आमाको निधन भएको छ । हिजो बेलुका जोन हप्कीन्स अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो ।

पहिले देखि नै दम र मुटुको रोगको समस्या भएकोमा कोरोनाको सङ्क्रमणपछिको उहाँको स्वास्थ्य अवस्था निकै गम्भीर भएको थियो । केही दिन अगाडि अस्पतालमा भर्ना गरिएकोमा उहाँलाई हिजो बेलुका डाक्टरहरूले मृत घोषणा गरेका थिए । झन्डै ७ वर्ष अगाडि नेपालको मोरङ शनिश्चरेबाट छोराबुहारी र नाति नातिनीसहित अमेरिका आउनुभएकी हजुरआमाको निधन भएकोमा मेरिल्यान्ड राज्यको संसद्मा डेलिगेट ह्यारी भण्डारीले मृतकको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।

मृतक हजुरआमाका छोरा मेरिल्यान्डको रुजडलमा आफ्नै निवासमा सेल्फ क्वारेन्टाइनमा बसिरहेको र बुहारीलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको जनाइएको छ । हजुरआमाका नाति र नातिनीलाई पनि लक्षण देखिएको जनाइएको छ । ‘हाम्रो परिवारमा त यस्तो भयो । तर तपाईँहरूको परिवारमा यस्तो घटना हुन नदिनका लागि विशेष सावधानी अपनाउनुहोला । हाम्रो समुदायको मान्छेले कोरोना भाइरसलाई गम्भीरताका साथ लिएका छैनन् । तर हामीलाई परेकाले हामीलाई थाहा भएको छ । त्यसैले कृपया यसलाई गम्भीरताका साथ लिएर सावधानी अपनाउनुहोला ।’ – हजुरआमाका छोरीपट्टिका नातिले खसोखाससँग कुरा गर्दै भन्नुभयो ।

‘घरभित्रै बस्दा पनि दुरी कायम गर्नुहोला । काममा नगई नहुने भएमा विशेष सावधानी अपनाउनुहोला । अत्यावश्यक भएर बाहिर जानैपर्नेहरुले घरमा बृद्धबृद्धा र बालबालिकाहरू भएको खण्डमा उनीहरूसँग दुरी कायम गर्न र उनीहरूलाई सङ्क्रमित हुन नदिन विशेष सावधानी अपनाउनुपर्छ । हाम्रो परिवारमा त भइहाल्यो तर अरूको परिवारमा यस्तो नहोस् भन्ने हाम्रो चाहना हो ।’ – उनले खसोखाससँग अमेरिकामा रहेका नेपाली भाषी भुटानी लगायत सबैलाई सन्देश दिँदै भन्नुभयो ।

डेलिगेट ह्यारी भण्डारीले घरको एकजनामात्र पनि घरबाहिर निस्कँदा कोरोना संक्रमण हुनसक्ने सम्भावना हुने भएकाले घरबाहिर निस्कनेहरुले विशेष सावधानी अपनाउनुपर्ने डेलिगेट ह्यारी भण्डारीले सन्देश दिनुभयो । उहाँले भन्नुभयो – ‘एक जना घरबाहिर गएर भाइरस घरमा भित्रायो भने अरू घरभित्र बसेको के मतलब ? त्यसैले घरबाहिर निस्कनै पर्ने व्यक्तिले परिवारका अरू सदस्यको संसर्गमा नआउन विशेष सावधानी अपनाउनुपर्छ ।’

‘खास गरी बृद्धबृद्धा र बालपालिलाई संक्रमण हुन नदिन सावधानी अपनाउन जरुरी छ । परिवारको कुनै सदस्यलाई लक्षण नदेखिएपनि उसले घरमा कमजोर इम्युन भएका र पहिलेदेखि स्वास्थ्य समस्या भएकाहरूलाई संक्रमण गराउन सक्छ । त्यसैले यस्तो घटना हुन नदिन सबैले पाठ सिक्न जरुरी छ ।’ -भण्डारीले भन्नुभयो ।

खसोखासबाट

प्रतिक्रिया