अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०३ | Colorodo: 01:18

अमेरिकाको मिसिसिपीमा आगलागी – आमा र ६ जना बालबालिकाको ज्यान गयो

बिआरटीनेपाल २०७६ माघ २६ गते ८:१४ मा प्रकाशित

अमेरिकाको दक्षिणी राज्य मिसिसिपीमा आगलागी हुँदा आमा र ६ जना बालबालिकाको ज्यान गएको छ । मिसिसिपी राज्यको क्लिन्टन शहरमा रहेको एउटा घरमा आगलागी हुँदा एक वर्षको बच्चासहित ६ बालबालिका र आमाको ज्यान गएको बीबीसीले जनाएको छ ।

आगलागीमा घाइते भएका बावुको भने उद्धार गरिएको छ । उनको अहिले अस्पतालमा उपचार भइरहेको छ । आगो लाग्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरी अधिकारीहरुले जनाएका छन् । यद्यपि विद्युतीय त्रुटिका कारण आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

आगलागी भएको घर मिसिसिपी राज्यको राजधानी ज्याक्सनबाट झण्डै १६ किलोमिटर पर पर्छ, जुन घर सन् १९५१ मा बनेको थियो । आगलागीमा ज्यान गुमाउने ३३ वर्षीया आमा प्राथमिक विद्यालयकी शिक्षिका हुन् । त्यस्तै अन्य ज्यान गुमाउनेमध्ये पाँच जना बालक र एक जना बालिका रहेकी छिन् । उनीहरुको उमेर एक वर्षदेखि १५ वर्षसम्म भएको जनाइएको छ ।

प्रतिक्रिया