अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३५ | Colorodo: 09:50

बलात्कार र हत्याका आरोपी गौतम २० वर्षपछि अमेरिकाबाट पक्राउ

बिआरटीनेपाल २०७६ कार्तिक ६ गते ९:१६ मा प्रकाशित

करिव २० बर्ष पहिले बलात्कारपछि हत्या गरी फरार रहेका झापा चन्द्रगढी ३ का ४२ वर्षीय लिलाराज गौतमलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला र उच्च अदालतले छाडेका उनलाई सर्वोच्च अदालतले दोषी रहेको फैसला गरेपछि पक्राउ गरिएको हो । गौतमलाई अमेरिकन प्रहरीको सहयोगमा नेपाल प्रहरीले प्रकाउ गर्न सफल भएको हो।

बुधबार बिहान टर्की एयरको विमान मार्फत गौतमलाई नेपाल ल्याइएको हो। काठमाडौं विमानस्थलमा ओर्लनासाथ नेपाल प्रहरीको टोलीले गौतमलाई पक्राउ गरेको हो। झापामा आजभन्दा २० वर्ष पहिले एक युवतीको बलात्कारपछि हत्या गरेको अभियोगमा यी युवकलाई अमेरिकामै पक्राउ गरेर नेपाल ल्याइएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले जानकानरी दिनुभयो ।

उहाँका अनुसार वर्षौदेखि अमेरिकामा बसोबास गर्दै आएका गौतमलाई इन्टरपोल वाशिंटनको सक्रियतामा सन् २०१८ फेब्रुअरी १३ मा पक्राउ गरी अमेरिकाकै हिरासतमा राखिएको थियो । पोखरेलका अनुसार २०५७ असोज २९ गते राति गौतमले मनोज खड्का, सिताराम बस्नेतसमेत ३ जना मिली झापा चन्द्रगढी–३ बस्ने सन्ध्या राजवंशीलाई जबरजस्ती करणी गरेपछि घाँटी थिची हत्या गरेका थिए। सन्ध्यालाई सामुहिक बलात्कार गरेर घाँटी थिची हत्या गरी रुखमा झुण्ड्याइएको अभियोगमा प्रहरीले गौतम, खड्का र बस्नेतलाई पक्राउ गरी मुद्दा चलाएको थियो । घटनाको भोलिपल्ट असोज ३० गते मृतकका बुवा राजकुमार राजबंशीले जिल्ला प्रहरी कार्यालय झापामा दिएको जाहेरीका आधारमा तीन जनाविरुद्ध मुद्दा अगाडि बढेको थियो ।

तर, झापा जिल्ला अदालतले ०५८ कात्तिक २१ गते गौतमलाई मुद्दाबाट सफाइ दियो । सोही साल चैत २८ गते पुनरावेदन अदालत इलामले पनि जिल्ला अदालतकै फैसलालाई सदर गर्दै गौतमलाई सफाइ दियो। पुनरावेदन अदालत इलाम हुँदै सर्वोच्च अदालतमा पुगेको मुद्दामा २०६६ भदौ २९ गते सर्वोच्चले गौतम समेतलाई जन्मकैदको फैसला गरेको थियो। प्रतिवादी गौतम ०५७ कात्तिक १ देखि ०५८ साउन ३२ सम्म १० महिना थुनामा परेका थिए । सो अवधि कट्टा गरेर उनलाई १९ वर्ष २ महिना जेलमा राख्न सर्वोच्च अदालतले ०६६ सालमै फैसला सुनाउँदा उनी अमेरिका पुगिसकेका थिए ।

प्रतिक्रिया