अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२० | Colorodo: 11:35

राम प्रसाद खनालको दसैँ तिहारको मार्मिक गीत “झल्को दसैँको”

बिआरटीनेपाल २०७६ असोज १७ गते १२:१८ मा प्रकाशित

लोकका गीत गाउने लोक तथा दोहोरी गायक राम प्रसाद खनालले यस पटकको दसैँ तिहारका लागि एउटा मन छुने गीत “झल्को दसैँको” कोसेलीको रूपमा पस्केका छन् । खनालले यस पटक आफ्नो गीत आफैले नगाएर अहिलेका चर्चित गायक, पोख्त सारङ्गी वादक हेमन्त रसाइली कान्छालाई गाउन लगाएका छन् । आफू विदेशमा भएकाले रेकर्डिङ गर्न असम्भव भए पछि खनालले आफ्नो गीत हेमन्तलाई गाउन लगाए । हेमन्तले पनि आफ्नै सारङ्गी वादनमा मिठो सँग गाएका छन् यो गीत ।

विदेशमा रहेका, आमा बाबु र आफन्तजन सँग दसैँ तिहार र चाडबाड मनाउन नपाउने लाखौँ लाख नेपालीको विरहको यो गीत प्रहरी, सेना, सशस्त्र र विदेशी पल्टनमा कार्यरतहरूको पनि गीत बनेको छ झल्को दसैँको भन्ने यो गीत ।

पछिल्लो समय लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक हेमन्त कान्छा रसाइली उनी मिठो स्वरका धनी त छन् नै तर मिठो सारङ्गीको धुन रेट्नमा पनि अब्बल छन् । साथै उनी गीत आफै रचना गर्छन् र आफै सङ्गीत पनि । उनले फेसबुक स्टाटसमा लेखेका छन् – राम प्रसाद खनाल दाजु हजुरले मलाइ हजुरको यो मिठो गीत गाउने अवसर दिनु नै मेरो हजारौँ प्रगतिको बाटो खुलेको जस्तो महसुस भएको छ ।

काठमाडौँबाट नेपालीजन्ता डट कम लेख्छ – अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय समिति अमेरिकाका संस्थापक र अध्यक्ष समेत रहेका राम प्रसाद खनालका धेरै जसो गीतहरू लोकले मन पराएका गीतहरू छन् । हाल सम्म ४८ वटा गीति एल्बम प्रकाशित गरेका खनालले १२ सय भन्दा बढी गीतहरू गाइसकेका छन् भने उनी कला, संस्कृति, गीत सङ्गीत, साहित्य र पत्रकारिताका क्षेत्रमा लामो समय देखी कार्यरत छन् ।

खनाल तिनै व्यक्ति हुन जसले नेपालको पुरै ओझेल परेको लोकगीत र दोहोरी गीत क्षेत्रलाई जुरुक्क उचालेर पुनर्जीवन दिएका थिए । त्यसैले राम प्रसाद खनाललाई नेपाली लोक दोहोरी क्षेत्रको प्रणेता पनि भनिन्छ ।

यसै बिच दसैँ तिहारको गीत “झल्को दसैँ” रिलिज भए लगत्तै खनालले लेखेका छन्- “विदेशमा रहेका,आमा बाबु र आफन्तजनसँग दसैँ तिहार र चाडबाड मनाउन नपाउने लाखौँ लाख नेपालीको विरहको गीत । प्रहरी, सेना, सशस्त्र र विदेशी पल्टनमा कार्यरतहरूको पनि गीत । तपाईंहरुलाई कस्तो लाग्छ कुन्नि ? प्रस्तुत यो मेरो गीत म आफू विदेशमा रहेको कारण अहिलेका चर्चित गायक, पोख्त सारङ्गी वादक प्यारो भाइ हेमन्त रसाइली कान्छाले गाएका छन् । उनको गायन शैली, फिलिङ्स, सारङ्गी वादन मन छुने प्रकारको छ । उनले मेरो यो गीत माथि पनि न्याय गरेका छन् भन्ने मलाई लाग्छ । कृपया हेर्दिनुहोला, मन परे लाइक र शेयर गरिदिनुहोला मेरो हार्दिक आग्रह सबै मेरा दर्शक श्रोताहरूसँग । सबैलाई मेरो यो कोसेली सँगै बडा दसैँ र तिहारको हार्दिक शुभकामना ।”


प्रतिक्रिया