अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४० | Colorodo: 03:55

शरणार्थीहरूको सङ्ख्यामा थप कटौती गर्ने अमेरिकाको घोषणा

बिआरटीनेपाल २०७६ असोज १० गते ९:३७ मा प्रकाशित

संयुक्त राज्य अमेरिकाले देशभित्र अनुमति दिइने शरणार्थीहरूको सङ्ख्या नाटकीय रूपमा कटौतीको घोषणा गरेको छ । आगामी वर्षबाट १८ हजार जनालाई मात्र पुनःस्थापित गरिने अमेरिकी विदेश मन्त्रालयले जनाइएको छ ।

हालको तुलनामा उक्त सङ्ख्या ४० प्रतिशतले घटेको जनाइएको छ । यस वर्ष अमेरिकामा ३० हजार शरणार्थी रहन सक्ने गरी संख्या तोकिएको थियो । अमेरिकाको यो पछिल्लो कदमलाई मानवअधिकारवादी तथा यससँग आबद्ध संस्थाहरुले भने आलोचना गरेका पनि समाचारमा जनाइएको छ ।

शरणार्थी पुनस्र्थापना कार्यक्रम अन्तर्गत यो सङ्ख्या सबैभन्दा कम हो । यसै वर्षको सङ्ख्या ३० हजार पनि सन् १९८० यताको सबैभन्दा कम हो । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति कार्यालय छोडेको अवस्थामा यो सङ्ख्या ८५ हजार रहेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शराणार्थीहरूको पुनर्वास कार्यबाट राज्य सरकार र स्थानीय सरकार पछि हट्न सक्ने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो । उहाँको त्यस निर्णयपछि शरणार्थी संख्या कटौती गर्न थालिएको हो । सन् २००१ को सेप्टेम्बरमा भएको हमलापछि सन् २००२ मा शरणार्थीहरूको सङ्ख्यामा भारी कटौती गरेर २७ हजार पुर्याईएको थियो ।

शरणार्थीको यस सङ्ख्याअन्तर्गत दुःख पाएका धार्मिक अल्पसङ्ख्यकहरूका लागि ५ हजार स्थान सुनिश्चित गरिने सो आदेशमा बताइएको छ । त्यसैगरी ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरबाट शरण खोज्दै अमेरिकाको दक्षिणी सिमामा आउनेहरूका लागि पनि एक हजार ५०० कोटा छुट्याइने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू