अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०३ | Colorodo: 10:18

भुवन, वसुन्धरा, दीपा श्री देखि स्वस्तिमा सम्मलाई नवदुर्गा सम्मान

बिआरटीनेपाल २०७६ असोज ९ गते ९:१८ मा प्रकाशित

काठमाडौँ । नेपाली चलचित्रको प्रथम अभिनेत्री देखि अहिले चल्तीमा रहेका अभिनेत्री समेटेर राष्ट्रिय नवदुर्गा सम्मान गरिने भएको छ । राष्ट्रिय नवदुर्गा सम्मान तथा सांस्कृतिक कार्यक्रम सहित गरी यो सम्मान कार्यक्रममा विभिन्न नौ अभिनेत्रीलाई सम्मान गरिँदै छ । सम्मानित हुने अभिनेत्रीहरूमा नेपालकै पहिलो चलचित्र ‘आमा’का अभिनेत्रीहरू भुवन चन्द तथा वसुन्धरा भुसाल, गौरी मल्ल, करिष्मा मानन्धर, नम्रता श्रेष्ठ, दीपा श्री निरौला, रेखा थापा, सञ्चिता लुइटेल एवं स्वस्तिमा खड्का रहेका छन् ।

विशिष्ट अभिनेत्री सहित नव अभिनेत्री सम्म राष्ट्रिय नवदुर्गा सम्मानबाट सम्मानित गरिनुमा विशिष्टलाई कदर गरिएको र नयाँहरूलाई भने एकै मञ्चमा प्रोत्साहन गरिएको आयोजकहरू मध्ये एक सहिद फिल्मकी विमना केसीले बताइन् ।

राष्ट्रिय नवदुर्गा सम्मान सहित वृहत् सांस्कृतिक कार्यक्रम समेत राखिएको छ । सांस्कृतिक प्रस्तुति दिनका लागि एलिशा राई, अञ्जली अधिकारी, यसराज गराज, नरेशविर सिंह, नीराजन प्रधान, गम्भीर विष्ट, गजित विष्ट, पवित्रा आचार्य लगायतका कलाकार रहेको आयोजक संस्था मध्ये एक रेजीना फिल्मस् की रेजीना उप्रेतीले बताइन् । सम्मानका अलावा मनोटोनस् नहोस् भन्नका खातिर सांस्कृतिक प्रस्तुति समेटिएको उप्रेतीले बताइन् । उनले भनिन् – पक्कै पनि सांस्कृतिक प्रस्तुति आकर्षक हुनेछ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल सरकारका उप–प्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेल रहेका छन् । राष्ट्रिय नाचघरमा आयोजना हुने यस कार्यक्रमको सञ्चालन भने दीपज्योती थापाले गर्नेछिन् । कार्यक्रम राष्ट्रिय नाचघरमा यही १३ गते दिउसो २ः३० देखी सुरु हुने बताइएको छ ।

प्रतिक्रिया