अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

सीतापुरमा साङ्घातिक हमला गरेको घटनाप्रति नेपाली जनसम्पर्क समिति अमेरिकाको प्रेस विज्ञप्ति

बिआरटीनेपाल २०७६ भदौ २९ गते १०:०२ मा प्रकाशित

नेपाली काँग्रेसले जननायक विपी कोइरालाको १०६ औँ जन्म जयन्तीका दिन भाद्र २४ मा मुलुकभर प्रारम्भ गरेको हिमाल,पहाड, तराई-मधेस (हिपतम) राष्ट्रिय जागरण अभियान अन्तर्गतको दोस्रो चरणको कार्यक्रम यही भाद्र २६ गते, बाँके जिल्लाको निर्वाचन क्षेत्र नम्बर-३ को प्रदेश सभा-२ को खजुरा गाउँपालिका वडा नम्बर २ सीतापुरमा शान्तिपूर्ण ढङ्गले सञ्चालन भइरहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आबद्ध कार्यकर्ताको जत्थाले कार्यक्रम बिथोल्ने प्रमुख उद्देश्यका साथ सुनियोजित रूपमा साङ्घातिक हमला गरेको घटनाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।

सरकार समर्थित कम्युनिस्ट कार्यकर्ताको उक्त साङ्घातिक हमलाबाट नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाको हात फ्याक्चर भएको छ भने, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल लगायत पार्टीका दर्जनौँ कार्यकर्ताहरू घाइते भएका छन् ।यो घटना अत्यन्तै, निन्दनीय, अमानवीय, घृणित र गैरकानुनी भएको ठहर गर्दै, सत्ताको उन्मादमा अराजक शैलीमा गरेको यस्तो सुनियोजित एवं साङ्घातिक आक्रमणको नेपाली जनसम्पर्क समिति अमेरिका घोर निन्दा र भर्त्सना गर्दछ ।

यो घटनाले स्वतन्त्र रूपमा शान्तिपूर्ण ढङ्गले राजनीतिक र साङ्गठनिक कार्यक्रम गर्न पाउने संविधान प्रदत्त नागरिक र दलको अधिकारमाथि ठाडो प्रहार गरेको छ। यसले अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार र कानुनी राज्यको धज्जी उडाएको छ। यो घटनाले लोकतन्त्रका आधारभूत मूल्य, मान्यता र सिद्धान्त समेतको खिल्ली उडाएको छ ।

त्यसैले यस घटनालाई सरकारले गम्भीरता पूर्वक छानबिन गरी दोषीलाई तत्काल कडा भन्दा कडा कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछौ । लोकतान्त्रिक व्यवस्थामा तत्काल कानुनी राज्यको आभास दिलाउन्न सरकारसँग आग्रह गर्दछौ। जिम्मेवार राजनीतिक पार्टीको रूपमा प्रस्तुत हुन र यस्ता घटनाहरू पुनः नदोहोर्‍याउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई चेतावनीका साथ आग्रह गर्दछौ ।

अन्त्यमा सबै घाइते हुनुभएका पार्टीका नेता तथा कार्यकर्ताहरूको शिघ्रलाभको कामना गर्दछौ ।

धन्यवाद, जय नेपाल !

मुनीन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क समिति अमेरिका

प्रतिक्रिया