अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४३ | Colorodo: 20:58

त्रिवि नेपाली केन्द्रीय विभागमा सुधा त्रिपाठीको ज्यादती, राजीनामा दिने प्राध्यापकहरूको लर्को

बिआरटीनेपाल २०७६ भदौ २० गते ८:४१ मा प्रकाशित

विभागीय प्रमुख नियुक्तिमा सुधा त्रिपाठीको कार्यशैलीप्रति असन्तुष्टि त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागमा विभागीय प्रमुखको नियुक्ति प्रति असन्तुष्टि जनाउँदै दुई जना वरिष्ठ प्राध्यापकले राजीनामा दिएका छन् । विभागका वरिष्ठ प्राध्यापक डा. महादेव अवस्थीले आइतबार रजिस्ट्रारमार्फत त्रिवि कार्यकारी परिषद् समक्ष राजीनामा बुझाएका हुन् । त्यसै गरी, प्रा.डा. मोतीलाल पराजुलीले पनि मङ्गलवार राजीनामा बुझाएका छन् । अझै राजीनामा दिनेहरूको क्रम निरन्तर रहेको बुझिएको छ ।

विभागका तत्कालीन प्रमुख प्रा.डा. देवीप्रसाद गौतमले अवकाश पाएसँगै नेपाली विभागमा विभागीय प्रमुखको पद खाली थियो । तर, त्रिविले वरिष्ठ प्राध्यापकलाई प्रमुख नबनाई धेरै जुनियर अप्राज्ञिक व्यक्ति कृष्णप्रसाद घिमिरेलाई विभागीय प्रमुखको जिम्मेवारी दिएपछि प्राध्यापकहरूले धमाधम राजीनामा दिएका हुन् । त्रिभुवन विश्वविद्यालयका वरिष्ठ प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलका अनुसार सुधा त्रिपाठीको कार्यशैली र गैरजिम्मेवार क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै उहाँहरूले राजीनामा दिनुभएको हो । उनले भने, ‘विगत लामो समयदेखि (अवस्थी ३७ वर्ष र पराजुली ३९ वर्ष) काम गरिरहेका वरिष्ठ प्राध्यापकहरूको भूमिकालाई बेवास्ता गरी विभागीय प्रमुख बनाएपछि उहाँहरूले राजीनामा दिनुभएको हो ।’ शैक्षिक प्राज्ञिक रूपमा पनि अब्बल हुँदाहुँदै उनीहरूको क्षमता र कार्यअवधिलाई ध्यानमा नराखी विभागीय प्रमुखको जिम्मेवारी दिएपछि उनीहरूको असन्तुष्टि बाहिरिएको हो । ‘वरिष्ठता र ज्येष्ठतालाई ख्याल नगरी अपमानजनक व्यवहार भएको अनुभव गरेर अवस्थी र पराजुलीले राजीनामा दिनुभएको हो,’ उनले भने, ‘नेपाली विभागको प्रमुखमा उहाँहरूले मलाई रहन आग्रह गर्नुभएको थियो ।

मैले आफू वरिष्ठतालाई नाघेर पदमा नबस्ने बताएको थिएँ ।’ त्रिपाठी निमित्त उपकुलपतिमा नियुक्त भएपछि त्यहाँ उनले गरेका कुनै पनि कामको बारेमा धेरैभन्दा धेरै प्राध्यापकहरू असन्तुष्ट रहेको स्रोतले बतायो । दुई जना वरिष्ठ प्राध्यापकहरू हुँदाहुँदै कनिष्ठ प्राध्यापकलाई विभागीय प्रमुख बनाउँदा धेरै असन्तुष्ट छन् । वर्षौँदेखि प्राध्यापन र अनुसन्धान गराइरहेकालाई भन्दा पनि विभागको बारेमा जानकारी नभएकालाई ल्याएर प्रमुख बनाएपछि अपमानित ठानेर आफूले राजीनामा दिएको पराजुली बताउँछन् । कुराकानीमा उनले भने, ‘विभागीय नियुक्ति राजनीतिक भागबन्डामा सीमित हुँदा त्यसको असर देखिएको छ । वरिष्ठताका आधारमा हुन पर्ने नियुक्ति भएको छैन । व्यक्तिगत रूपमा भन्दा पनि नियुक्ति प्रक्रियाले समस्या सिर्जना गरेको हो ।

त्यस्तै, प्रा.डा. महादेव अवस्थी पनि विश्वविद्यालयमा हुन पर्ने प्राज्ञिक वरिष्ठता कायम हुन नसकेपछि अपमानित महसुस गरेर आफूले राजीनामा दिएको बताउँछन् । निमित्त उपकुलपति डा. सुधा त्रिपाठीको कार्यशैली र उनले गर्ने व्यवहार वरिष्ठताको आधारभन्दा बाहिर रहेको उनको भनाइ छ । अवस्थीले आफ्नो चाकडी गर्ने चलन नभएको भन्दै उपकुलपति डा. त्रिपाठीलाई चाकडी आवश्यक रहेको आरोप समेत लगाए । उनले भने, ‘यसअघि उपकुलपति हुनुभएका तीर्थ खनिया पनि मभन्दा जुनियर हुनुहुन्थ्यो । त्रिपाठी पनि जुनियर नै हो । म उहाँहरूलाई बधाई दिन पनि गइनँ, त्यसको परिणामस्वरूप यो भएको हो ।’

नेपाली विभागमा एम.ए., एम.फिल. र पिएच. डी.कार्यक्रम सञ्चालित छन् ।अहिले नियुक्त गरिएका घिमिरेले एम.फिल. र पिएच. डी. मा आजसम्म कक्षा लिएका छैनन् । एक पटक एम.फिल.मा कक्षा लिँदा विद्यार्थीले उनको कक्षा बहिष्कार गरेका थिए भन्ने विद्यार्थीकै भनाइ रहेको छ ।उनले अहिलेसम्म एक जना पनि एम.फिल. र पिएच. डी.को गाइड गरेका छैनन् ।अवस्थी र पराजुलीले सुरुदेखि नै एम.फिल. र पिएच. डी.को कक्षा लिइरहेका छन् र उनीहरू दुवैले तीसौं-चालीसौंको सङ्ख्यामा एम.फिल. र पिएच. डी.को गाइड गरिसकेका छन् ।विश्वविद्यालयमा प्राज्ञिकता र वरिष्ठताको मापन पनि यही हो ।घिमिरेको नेतृत्वमा एम.फिल. र पिएच. डी.कार्यक्रम कसरी सञ्चालित हुन्छन् भन्ने कुरामा सबै चिन्तित रहेको प्राध्यापक र विद्यार्थीहरू बताउँछन् ।

हाल ३ महिने कामचलाउ उपकुलपति बनाइएकी सुधा त्रिपाठीले नेपाली केन्द्रीय विभागमा ज्यादती गरेर नपुगी केही आसेपासेलाई लगाएर उपकुलपति भएको हल्ला गराइरहेकोमा आम सरोकारवालाहरू आक्रोशित रहेको बुझिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू