अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५६ | Colorodo: 01:11

टर्की र अमेरिकाबीचको सम्बन्ध चिसियो

बिआरटीनेपाल २०७६ असार २८ गते १:०३ मा प्रकाशित

अमेरिका र टर्कीबीचको सम्बन्ध चिसिएको छ । अमेरिकाको विरोधका बीच टर्कीले रुससँग किनेको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको पहिलो ढुवानी प्राप्त गरेसंगै दुई देशबीचको सम्बन्धमा चिसोपना बढेको हो । रुससँग किनेको एस–४०० प्रतिरक्षा प्रणालीको पहिलो ढुवानी टर्कीले अंकरा विमानस्थलमा प्राप्त गरेको हो ।

टर्कीले यसअघि अमेरिकी लडाकु विमान ‘एफ–३५’ खरिद गरेको थियो । अमेरिकाले अमेरिकी एफ–३५ विमान र रुसी एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली सँगै राख्न नपाउने बताउँदै आएको छ । तर, टर्कीले अमेरिकी लडाकू विमान र रुसी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली एकसाथ राख्ने भएपछि अमेरिका क्रुद्ध बनेको हो । टर्की र अमेरिका दुवै उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का सदस्य हुन् । तर टर्कीले रुससँग पनि नजिकको सम्बन्ध स्थापित गर्न प्रयास गरिरहेको छ ।

टर्कीले एक सय एफ–३५ लडाकु विमान किन्न अमेरिकासँग सम्झौता गरिसकेको छ । टर्कीले एफ–३५ का लागि ठूलो रकमसमेत खर्च गरिसकेको छ । टर्कीले रुसी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली र त्यसको सञ्चालनका लागि २ खर्ब ५० अर्ब डलर बराबर रकम खर्च गरिसकेको छ । अमेरिकी अधिकारीले नेटो हवाई प्रतिरक्षा प्रणालीमा उक्त क्षेत्रका लागि रुसी ‘एस–४००’ प्रणाली अमिल्दो भएको दाबी गर्दै आएका छन् ।

रूसी प्राविधिकहरूले एफ–३५ विमानको कमजोरी पत्ता लगाउन सक्ने डरका कारण अमेरिकी रक्षा अधिकारीले उक्त विमानलाई एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली नजिक राख्न चाहँदैनन् । अमेरिकाले रुसी प्रतिरक्षा प्रणाली पूर्णरुपमा स्थापित गरे एफ–३५ कार्यक्रमबाट हटाउने जनाएको छ । त्यसका साथै अमेरिकी अधिकारीले टर्कीमाथि आर्थिक प्रतिबन्ध लगाउनेसमेत चेतावनी दिएका छन् । अमेरिकी चेतावनीसँगै दुई नेटो मुलुकबीच द्वन्द्व बढ्ने संकेत देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू