अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०० | Colorodo: 05:15

एनआरएन अमेरिकाद्वारा सत्तारुढ नेकपालाई बहिस्कार– साधारण सभा कांग्रेसको जागरण भेलामा परिणत

बिआरटीनेपाल २०७६ असार २२ गते १०:२२ मा प्रकाशित

गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको आठौँ साधारण सभामा सत्तारुढ दल नेकपालाई बहिसकार गरिएको छ । अमेरिकी शहर सिकागोमा शनिबारबाट सुरु भएको साधारण सभा कांग्रेसी जागरण भेलामा परिणत भएको बताईएको छ । साधारण सभामा नेपालबाट सत्तारुढ दललाई पुरै वहिष्कार गरिएको हो ।

एनआरएन विदेशमा बस्ने नेपालीहरुको एउटै मात्र संस्था हो जसलाई नेपाल सरकारले मान्यता दिएको छ । यसका गतिविधि र सम्बन्ध सिधै नेपाल सरकारसँग हुने भएपनि सत्तारुढ दलका एक जनालाई पनि आयोजकले निमन्त्रणा नगरेको बुझिएको छ । संबिधान जारी हुँदा न्यूयोर्कमा जलाउनेहरु नै नेतृत्वमा आएपछि नेपालको सत्तारुढ प्रमुख दललाई बहिस्कार गरेर बदला लिइएको जानकारहरु बताउछन् ।

साधारणसभामा प्रमुख अतिथिका रुपमा एनआरएनसँग कुनै साइनो र सम्बन्ध समेत नभएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छेदार सहभागी हुनुभएको थियो । सधैँभरि मालदार मन्त्रालय रोज्ने गच्छेदारलाई प्रमुख अतिथि बनाएर एनआरएन अमेरिकाले नेपाल सरकारसँग कस्तो सम्बन्ध गाँस्न चाहेको हो रहस्यको विषय बनेको टिप्पणी हुन थालेको छ ।

दोहोरो नागरिक, दोहोरो करमुक्ति, भिसा लगायतका क्षेत्रमा एनआरएनहरुको नेपाल सरकारसँग अझै पनि धेरै विषयहरु टुंगो लगाउन बाँकी छ । सरकारलाई प्रवासमा रहेका नेपालीहरुको बारेमा धेरै विषयहरुमा बुझाउन, जानकारी गराउन बाँकी रहेको अवस्थामा एनआरएन अमेरिकाको नेतृत्वले साधारण सभालाई नेपाली कांग्रेसको जागरण भेलाको रुप दिएको छ ।

नेपालमा खासै हैसियत नभएका तरुण दल अध्यक्ष जीतजंग बस्नेत, कांग्रेसका नेताहरु कल्याण गुरुङ्ग, गोबिन्द भट्टराई, कांग्रेस सांसद सञ्जय गौतम लगायतलाई साधारणसभामा निकै महत्वका साथ आशनग्रहण गराएको एनआरएन अमेरिकाकै कतिपय सदस्यहरुले पचाउन सकेका छैनन् ।

हालैमात्र एनआरएन अमेरिकाको चुनावमा कांग्रेस समर्थित सुनिल साहको टीमले जितेको छ । निवर्तमान अध्यक्ष डा.केशव पौडेल नेपालमा छँदा नेबिसंघको राजनीति गरेका व्यक्ति हुनुहुन्छ । डा. पौडेलकै योजना अनुसार नेकपा र सरकारका प्रतिनिधिलाई यो कार्यक्रममा पुरै बाइपास गरिएको बताईन्छ ।

प्रतिक्रिया