अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०२ | Colorodo: 16:17

प्रवासी नेपालीसँग नेता राईको अन्तकृया

बिआरटीनेपाल २०७६ असार १६ गते २२:१९ मा प्रकाशित

न्यु योर्क । समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक कुमार राईले गलत बाटोमा लागेपछि तत्कालीन नेकपा (एमाले) परित्याग गरेको बताएका छन् । नेपाली समाज अमेरिकाले आइतबार आयोजना गरेको कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

‘राजनीति एउटा प्रयोजनको निम्ति गर्ने हो । निजी हितको निम्ति गर्ने होइन । एमालेमा बसेर म धेरै नाफा लिन सक्थेँ । त्यो नदेखेको होइन,’ उनले भने, ‘नदेखेर छोडेको भए मैले पश्चात्ताप गरेर फर्किनुपर्ने हुन्थ्यो । तर, मैले त्यो देखेर, जानेर, बुझेर एमाले छाडेको हो । एमालेले देशलाई जुन डिरेक्सनमा लान खोजिरहेको छ त्यो गलत छ भन्ने विचारयुक्त विचारयुक्त विश्लेषण र निष्कर्षका आधारमा नै एमाले परित्याग गरेको हो ।’

उनले समाजवादी पार्टी एमालेलेलाई घृणा गरेर, एमालेका विरुद्धमा वा एमालेलाई क्षति पु¥याउन स्थापना नगरेको बताए । उनले एमालेका नेताहरूसँग बडो हार्दिकतापूर्वक छलफल गरेर, उहाँहरू देशलाई जुन बाटो लान खोज्दै हुनुहुन्छ त्यो गलत छ भनेरै छाडेको बताए । ‘तत्कालीन एमालेले लिएको बाटोले नेपाली समाजलाई फ्रिक्सनमा पु¥याउँछ । कन्ट्रयाडिक्सन र कन्फ्लिक्टमा पु¥याउँछ,’ उनले भने, ‘त्यो कन्फ्लिक्ट १० वर्षे जनयुद्धभन्दा धेरै गुणा हानिकारक हुन्छ ।’

कार्यक्रममा समाजवादी पार्टीकी केन्द्रीय सदस्य सुशीला श्रेष्ठले सङ्घर्ष गरेर लोकतन्त्र र गणतन्त्र ल्याउँदा समेत महिलाले मुक्ति नपाएको बताइन् । ‘हामीलाई नेताहरूले जहिले पनि अधिकार मागेर पाइँदैन, खोसेर लिनुपर्छ भन्नुभयो । हामीले सङ्घर्ष ग¥र्यौं, लोकतन्त्र ल्यायौँ । गणतन्त्र ल्यायौँ,’ उनले भनिन्, ‘तर, नेतृत्वमा कहिले पनि महिलालाई पु¥याइएन । न त अधिकार दिइयो । अहिलेको संविधान महिलाप्रति विभेदकारी छ । त्यसलाई अन्त्य गर्न हामी महिलाहरू फेरी एक पटक उठ्नुपर्ने छ ।’

उनले समाजवादी पार्टीले लिएको ‘जातीय मुक्तिका लागि सङ्घीयता, वर्गीय मुक्तिका लागि समाजवाद’ भन्ने नीति र विचारले देशलाई बचाउने बताए । तत्कालीन नेकपा (एमाले) का उपाध्यक्ष रहिसकेका राई दुई पटक मन्त्री भइसकेका छन् । पारिवारिक भ्रमणमा अमेरिका रहेका बेला नेपाली समाजले न्यु योर्कमा रहेका नेपाली समुदायसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राई सहभागी थिए । उनको दल समाजवादी पार्टी सरकारमा छ । समाजवादी पार्टी नेपालको तेस्रो ठुलो राजनीतिक दल हो । नेपाली समाज अमेरिका समाजवादी पार्टी निकट सङ्गठन हो ।

कार्यक्रममा सातौँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा काश्य पदक पाउन सफल विमला तामाङ र एक सय ७१ पटक रक्तदान गरेका अर्जुन प्रसाद मैनालीलाई समाजवादी पार्टीका वरिष्ठ नेता राईले सम्मानपत्र प्रदान गरेका थिए । साथै, वरिष्ठ नेता राईको प्रमुख आतिथ्यमा नेपाली समाजको महिला सङ्गठन र युवा सङ्गठन गठन गरिएको छ । महिला सङ्गठनको अध्यक्षमा पूर्व डिआइजी पार्वती थापामगर र युवा सङ्गठनको अध्यक्षमा विजयमान सीँ चुनिएका छन् । दुवै सङ्गठन नेपाली समाज अमेरिकाको भातृ सङ्गठन हो ।

प्रतिक्रिया