अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३३ | Colorodo: 10:48

युक्राको साकेला भोलि मे १९ मा

बिआरटीनेपाल २०७६ जेठ ४ गते १०:२६ मा प्रकाशित

न्यु योर्क । युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) ले मे १९ मा साकेला (उभौली) पर्व मनाउने भएको छ ।
युक्रा न्यु योर्क च्याप्टर अध्यक्ष केशवराम राईले किराँत राई जातीको महान् चाड साकेला विगतका वर्षहरूमा जस्तै यसपालि पनि न्यु योर्कको क्वीन्सब्रीज पार्कमा मनाउने तय भएको बताए । ‘साकेलामा वासिङ्टन डिसी, मेरील्याण्ड, भर्जिनिया, पेन्सिलभेनिया, कनेक्टिकट, म्यासाच्युसेट्स, न्यु ह्याम्सायर, क्यालिफोर्निया, न्यु जर्सी र न्यु योर्क लगायतका राज्यहरूबाट करिब २ सय ५० किराँत राई सहित करिब ३ सयको सहभागिता रहने छ,’ उनले भने ।

युक्राको साकेला किराँत राई सोसाइटी अफ अमेरिका (केआरएसए) को भन्दा एक साता अघि हुन लागेको हो । केआरएसएले यही मे २५ मा क्वीन्सब्रीज पार्कमै साकेला आयोजना गर्दैछ । अध्यक्ष राईले प्रवासमा राई समुदायको संस्कार र संस्कृति प्रवर्द्धन गर्न साकेलाको ठुलो भूमिका रहेको बताए ।

राई समुदायको चाड भए पनि साकेलामा सबै समुदायको उपस्थिति हुने गरेको छ । साकेला उभौली र उधौली गरी साकेला वर्षको दुई पटक मनाइन्छ । उभौली गर्मी लाग्दै गर्दा र उधौली जाडो लाग्दै गर्दा मनाइन्छ । मौसम परिवर्तनसँगै गर्मी छल्न पहाडतिर उक्लने र जाडो छल्न तराईतिर झर्ने अभ्याससँग साकेला जोडिएको छ । प्रकृति पुजक किराँत राई समुदायले साकेलामा नाचका माध्यमबाट संसार र आफ्नो उत्पत्ति तथा प्रकृतिसँगको सम्बन्धको कथा भन्छन् । 

प्रतिक्रिया