अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१८ | Colorodo: 10:33

नासा र एन्माको १५ औँ संयुक्त सम्मेलनको दर्ता खुल्ला

शिव विष्ट २०७६ वैशाख २९ गते १०:०२ मा प्रकाशित

दक्षिण पूर्वी राज्यहरूमा रहेका नेपालीहरूको छाता सङ्गठन नेपलिज एसोसिएसन ईन साउथ इस्ट अमेरिका (नासा) र मध्य पश्चिम राज्यहरूमा बस्ने नेपालीको संस्था एसोसिएसन अफ नेपलिज ईन मिड वेष्ट अमेरिका (एन्मा)को १५ औँ संयुक्त सम्मेलन अगस्त ३० देखि सेप्टेम्बर १ सम्म नर्थ क्यारोलिनाको सुन्दर सहर विन्स्टन -सेलममा हुने भएको छ । हाइपोइन्ट स्थित नेपालीहरूको साझा संस्था ट्राईड नेपलिज कम्युनिटि सेन्टरको आयोजनामा सम्पन्न हुने उक्त सम्मेलनको रजिस्ट्रेशन खुल्ला गरिएको कुरा नासाका अध्यक्ष माधव ढकालले बताउनु भएको छ । साथै नासाका महासचिव कृष्ण श्रेष्ठद्वारा हालै सम्प्रेषित सूचना अनुसार नासाको आगामी दुई बर्से कार्यकालको कार्यसमितिको निर्वाचनको लागि डा.नरकाजी गुरुङको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति समेत गठन गरिएको छ । समितिको अन्य सदस्यहरूमा चर्चित कानुन व्यवसायी वासु फुलारा र समाजसेवी तथा बुद्धिजीवी माधव मैनाली रहनु भएको छ ।

हरेक वर्ष झैँ यस पटकको सम्मेलनमा पनि स्थानीय तथा अमेरिकाको १४ भन्दा बढी राज्यहरूबाट प्रतिनिधिहरू सहभागिता जनाउने गरी तयारी भइरहेको सम्मेलन आयोजक समितिका अध्यक्ष प्रशिम पौडेलले बताएका छन् । सो संयुक्त सम्मेलनलाई व्यवस्थित बनाउन ११ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । सम्मेलन आयोजक संस्था ट्राईड नेपलिज कम्युनिटि सेन्टरका नवनिर्वाचित अध्यक्ष प्रशिम पौडेललाई सम्मेलन प्रमुखको जिम्मेवारी दिइएको छ । सोही समितिमा नासाका अध्यक्ष माधव ढकाल, एन्माका अध्यक्ष बलराम पन्थी र समितिको उपाध्यक्षहरूमा तिनै संस्थाका प्रतिनिधिहरू रहेका छन् । त्यसै गरी मूल समितिको कार्य व्यवस्थापन र बैठक परिचालनका सहजीकरणका लागि तीन सदस्यीय सचिवालयसमेत गठन गरिएको छ ।

नासाका अध्यक्ष माधव ढकालले विगतमा झैँ यस पटक पनि सम्मेलन भव्य हुनेमा विश्वास व्यक्त गरेका छन् । एन्माका अध्यक्ष बलराम पन्थीले नेपाली कला र संस्कृतिको संरक्षण र प्रवर्धन गर्न, नेपाली नेपाली बिचको भाइचाराका वृद्धि गर्न सम्मेलन फलदायी हुने भएकाले सबैलाई सहकार्यका लागि आग्रह गरेका छन् । साथै सम्मेलन प्रमुख प्रशिम पौडेलले सबै महानुभावहरूको हातेमालो भएमा सम्मेलन सफल र उपलब्धि मूलक हुने कुरामा आशा व्यक्त गरेका छन् । आगामी सम्मेलनलाई अवसर र चुनौतीका रूपमा लिँदै ट्राईड नेपलिज कम्युनिटि सेन्टका निवर्तमान अध्यक्ष सान्त्वना खड्काले विगतको झैँ सफल र उपलब्धिमूलक बनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सम्मेलनमा नेपाली भाषा, कला संस्कृतिको संरक्षण गर्न, अमेरिकामा जन्मी हुर्केका बालबालिकालाई नेपाली संस्कार, भाषा र संस्कृति सिकाउन मद्दत पुरयाउने हिसाबले हरेक वर्ष यस्ता सम्मेलन आयोजना गर्ने गरिएको छ । साथै सम्मेलनमा विभिन्न विषयगत गोष्ठी, नेपाली कला संस्कृति झल्काउने कला प्रस्तुति, साहित्य र साङ्गीतिक कार्यक्रमहरूका साथै युवा वर्गका लागि बौद्धिक र शारीरिक विकासका लागि विभिन्न खेलकुद कार्यक्रमहरू सञ्चालन गरिने छ ।

सम्मेलनमा नेपालबाट चर्चित कलाकारका साथै विशिष्ट व्यक्तिहरूलाई अतिथिका रूपमा आमन्त्रण गरिने छ भने अमेरिकामा रहेका लोकप्रिय कलाकारहरूलाई साङ्गीतिक कार्यक्रम प्रस्तुतिका लागि आमन्त्रण गरिने भएको छ । साथै यस पटक नेपाली गायन प्रतिस्पर्धा समेत गर्न लागिएको कुरा सो समितिका संयोजक रोशन श्रेष्ठले बताएका छन् । सम्मेलन सफल पार्नका लागि अन्य विभिन्न समितिहरू गठन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू