अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०० | Colorodo: 02:15

एनआरएन अमेरिकाको विज्ञ भेला सियाटलमा सम्पन्न

बिआरटीनेपाल २०७५ माघ ११ गते १२:३९ मा प्रकाशित

अमेरिकामा आर्जन गरेको ज्ञान र अनुभव नेपालसँग जोड्न २० वटा कार्यपत्र प्रस्तुत

अमेरिका, अमेरिकालाई ‘ल्यान्ड आफ अपरचुनिटी’, ‘ल्यान्ड अफ इनोभेशन’, ‘ल्यान्ड अफ मोर्डन साइन्स एण्ड टेक्नोलोजी’ लगायतका थुप्रै नाम र विशेषण लगाएर चिनाइन्छ । हो, थुप्रै नेपाली त्यसैको पछाडि लाग्दै यहाँ आइपुगेका हुन् । नेपालमा सामान्य परिवारमा जन्मेर यहाँ आएपछि आर्जन गरेको अनुभव, ज्ञान, सिप, क्षमता, अध्ययन र अनुसन्धानलाई नेपाल र नेपालीको हितमा जोड्न सके राम्रो हुने थियो भन्ने सबैलाई लागिरहेकोहुन्छ । त्यही छटपटाहटका कारण अमेरिका आएर विभिन्न क्षेत्रमा काम, अध्ययन, अनुसन्धान र प्राध्यापन गरिरहेका नेपाली विज्ञहरू आफ्नो सिप र क्षमतालाई नेपाल र नेपालीको हितमा जोड्न एकजुट भएर छलफलमा लागेका छन् । 

जनवरी १९ तारिख शनिवार वासिङ्टन राज्यको सियाटलमा जम्मा भएका विज्ञहरूले आफ्नो दक्षता र अनुभवले खारिएका २० वटा कार्यपत्र प्रस्तुत गरे । माइक्रोसफ्टको हेडअफिसमा आयोजित एनआरएन अमेरिकाको क्षेत्रीय विज्ञ भेलामा प्रस्तुतिको निष्कर्षमा विज्ञहरूले नेपाल र नेपालीको हितमा कसरी काम गर्न सकिन्छ भनेर आफ्ना धारणा राखेका थिए । एनआरएनए अमेरिका साइन्स, टेक्नोलोजी तथा इनोभेसन कमिटीका संयोजक पशुपति पाण्डेका अनुसार एनआरएनको घोषित कार्यक्रम अनुसार नै अमेरिकामा आर्जन गरेको सिप क्षमता र ज्ञानलाई नेपाल र नेपालीको हितमा जोड्ने प्रयासको निरन्तरता स्वरूप यो कार्यक्रम भएको हो । 

‘एनआरएनए अमेरिका उत्तर पश्चिम क्षेत्रीय नलेज सेयरिंग कन्फरेन्स’ नाम दिइएको यो भेला एनआरएनए अमेरिका साइन्स, टेक्नोलोजी तथा इनोभेसन कमिटी र वासिंगटन च्याप्टरको संयुक्त आयोजनामा सम्पन्न भएको हो । कार्यक्रम आयोजक समितिका तर्फ बाट पशुपति पाण्डेले ज्ञान अनुभव र विज्ञता भएका नेपालीहरूको साथले एनआरएनए अमेरिकाको छवि माथि उठाउन सहयोग पुगेको बताउँछन् । एनआरएन अमेरिका नवीन सोचले भरिएका व्यक्ति र रचनात्मक हातलाई साथमा लिएर अगाडि बढ्न चाही रहेको छ भन्ने सन्देश यस कार्यक्रमले आम मानिसमा पुर्‍याएको छ । 

विषयवस्तु र विज्ञहरूको प्रस्तुततिमा रुचि भएका क्यालिफोर्निया, ओरेगन, वासिङ्टन, सियाटल, भेन्कुवर (क्यानडा) बाट नेपालीहरूको कार्यक्रममा सहभागिता रहेको थियो । अमेरिकामा रहेका नेपाली विज्ञहरूको नेपाल सम्बन्धलाई थप नजिक्याउन वासिङ्टन राज्यमा आयोजना गरिएको यो पहिलो सशक्त कार्यक्रम हो । कार्यक्रममा विज्ञहरूको प्रस्तुति पछि त्यस माथि अन्तरक्रिया समेत भएको थियो । कार्यक्रममा डाक्टर तारा सिग्देलले बायो टेक्नोलोजी, डाक्टर नवीन खनालले सूचना प्रविधि, डाक्टर द्रोण रसाइलीले सोसोलोजी, वासिङ्टन स्टेटका आयुक्त मोहन गुरुङले विदेशी भूमिमा नेपाली भाषाको जगेर्ना र अमेरिकामा नेपाली भाषालाई दिलाइएको क्रेडिट, पशुपति पाण्डेले साइन्स, टेक्नोलोजी, इनोभेशन समितिले गरिरहेका काम र भावी योजना, सुवास प्रजापतिले सङ्गीत, सुनिल शाहले योङग इन्टरपिनर र डाक्टर अर्जुन बन्जाडेले शिक्षा सम्बन्धमा प्रस्तुति दिएका थिए । सियाटल पछि स्थानीय च्याप्टरहरूको सहकार्यमा विज्ञहरूको भेला लस एन्जलस, डल्लास र डिसी मेट्रो क्षेत्रमा गर्ने तयारी भइरहेको छ । अमेरिकामा नेपाली मूलका विज्ञहरू ठुलो सङ्ख्यामा क्यालिफोर्निया, डिसी मेट्रो, सियाटल र बोष्टनमा रहेका छन् । विज्ञहरूको यस्तो क्षेत्रीय भेला छरिएर रहेका नेपाली विज्ञहरूलाई एनआरएनको छातामुनि ल्याएर उनीहरूको सिप र क्षमतालाई नेपाल र नेपालीको हितमा उपयोग गर्न सहयोगी हुनेछ ।

प्रतिक्रिया