अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५२ | Colorodo: 20:07

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गर्ने बारेको अत्यन्त जरुरी सूचना

बिआरटीनेपाल २०७५ पुष २८ गते २२:४२ मा प्रकाशित

संसारभरि छरिएर बसोबास गरेका नेपाली लेखकहरूबाट नेपाली साहित्यका विभिन्न विधामा लेखिएका पुस्तकहरूको मूल्याङ्कन गरी १५०० अमेरिकी डलरको एक अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका साथ छन्द कविता, गद्य कविता, गीत/गजल/मुक्तक, कथा, उपन्यास, निबन्ध, नियात्रा/संस्मरण, समालोचना, संस्कृति/दर्शन, बालसाहित्यको सर्वोत्कृष्ट कृतिलगायतका विभिन्न ११ विधामा पुरस्कार प्रदान गरिने हुँदा पुस्तक लेखकहरूलाई देहायको सीमाभित्र रही पुस्तक पठाउन हार्दिक आह्वान गरिन्छ ।

पुस्तक दर्ता गराउने लेखकहरूले देहायका सर्तहरू स्वीकार गर्नुपर्नेछ
१. पुस्तकहरू नेपाली भाषामा लेखिएको हुनुपर्नेछ ।
२. पुस्तकको विधा प्रस्ट रूपमा छुट्टिएको हुनुपर्नेछ ।
३. पुस्तक आवरणसहित कम्तीमा ५६ पृष्ठको हुनुपर्नेछ ।

४. पुस्तक सन् २०१७ को जनवरी १ देखि सन् २०१८ को डिसेम्बर ३१ भित्रको मितिमा मुद्रण भएको हुनुपर्नेछ । मुद्रणको मिति विक्रम संवतमा लेखिएको भए इस्वी सनमा बदल्दा माथिको मितिसित मेल खानुपर्नेछ । महिना र गतेको सीमा प्रस्ट हुनका लागि पुस्तकबारे स्थानीय अखबारमा सार्वजनिक भएको समाचारलाई आधार मानिनेछ ।

५. लेखकले पुरस्कार दर्ताका लागि पठाउँदा पुस्तक सन् २०१९ को फरबरी २८ सम्ममा तलको ठेगानामा आइपुग्नुपर्नेछ । नेपालमा पुस्तक दर्ता गर्ने लेखकहरूले नेपाल च्याप्टरको देहायको ठेगानामा फरबरी २१ भित्रमा दर्ता गरिसक्नुपर्नेछ । यसरी दर्ता गरेको जानकारी पुरस्कार समितिको देहायको इमेलमा जानकारी गराउनुपर्नेछ ।

६. एकै जना लेखकले माथिका सर्त पूरा भएका जति वटा कृति पनि दर्ता गराउन सक्नेछन् । प्रत्येक कृतिका छप्रतिका दरले पुस्तकहरू दर्ता गराउनुपर्नेछ ।

७. लेखकले पुस्तकका साथमा पुरस्कार समितिले निर्धारण गरेको लेखक परिचय फाराम पूरा भरेर अनिवार्य रूपमा पठाउनुपर्नेछ ।
८. नेपालमा मदन पुरस्कार प्राप्त गरेका पुस्तकहरू अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि दर्ता गरिनेछैन ।

९. अनेसासका बहालवाला केन्द्रीय पदाधिकारीहरू, उनीहरूका छोराछोरी, श्रीमान्/श्रीमती, केन्द्रीय सल्लाहकार, सल्लाहकारका छोराछोरी, श्रीमान्/श्रीमती, बोर्ड अफ ट्रस्टीजका कार्यसमितिका पदाधिकारीहरू, तिनका छोराछोरी, श्रीमान्/श्रीमती, ट्रस्टीज सल्लाहकार, सल्लाहकारका छोराछोरी, श्रीमान्/श्रीमती, पुरस्कार समितिका पदाधिकारीहरू तिनका छोराछोरी, श्रीमान्/श्रीमतीले अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गराउन पाउनेछैनन् । छद्म नाममा माथिका व्यक्तिहरूको पुस्तक दर्ता भएको थाहा भएमा, उजुरी परेमा वा खुलासा भएमा पुरस्कृत भइसकेको अवस्थामा पनि पुरस्कार समितिले पुरस्कारलाई रद्द गर्नेछ ।

१०. बाललेखकहरूको पुस्तक दर्ता गर्दा बाललेखकलाई अभिभावकहरूले सहयोग गरिदिनुपर्नेछ, सम्पर्कको माध्यम अभिभावक
बनिदिनुपर्नेछ ।

कसैको पूर्व प्रकाशित कृतिको नक्कल भएको वा सन् २०१७ को जनवरी १ अघि प्रकाशन भइसकेको पुस्तकको मिति सच्याएर दर्ता गरेको पाइएमा, उजुरी परेमा वा खुलासा भएमा पुरस्कृत भइसकेको अवस्था भए पनि पुरस्कार अस्वीकृत गरिनेछ ।

उपर्युक्त सर्त पूरा गरी आएका पुस्तकहरूलाई मूल्याङ्कन समितिले दुई चरणमा मूल्याङ्कन गर्नेछ । पहिलो चरणमा तीन जना भाषा, साहित्यविज्ञहरूबाट मूल्याङ्कन भएर छानिएका पुस्तकहरू दोस्रो चरणका तीन जना मूल्याङ्कन कर्ताकहाँ पठाइनेछ । दोस्रो चरणका मूल्याङ्कनकर्ताहरूबाट प्राप्त भएको नतिजालाई सन् २०१९ जुलाई महिनामा भानुजयन्तीका अवसरमा सार्वजनिक गरिनेछ । अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण महाकवि देवकोटाको जन्मजयन्तीका अवसरमा अनेसासको केन्द्रीय कार्यालय संयुक्त राज्य अमेरिकाको वासिङ्टन डी. सी. मा एक विशेष समारोह आयोजना गरी स्रष्टाहरूलाई पुरस्कार वितरण गरिनेछ ।

नेपाल च्याप्टरमा फरवरी २१ सम्ममा पुस्तक दर्ता गर्ने ठेगाना :

अनेसास नेपाल च्याप्टरको कार्यालय
अनामनगर काठमाडौँ
फोन नं. ९८५१०–५९३५४

संयुक्त राज्य अमेरिकामा फरबरी २८ भित्रमा आइपुग्ने गरी पुस्तक पठाउने ठेगाना
13135 Quali Creek Ln
Fairfax, VA 22033

अथवा
7887 Blue Gray Cir
Manassas VA 20109

कृपया आफूले अमेरिकामा दर्ता गर्न पठाएको वा नेपालमा दर्ता गरेको जानकारी तलको इमेलमा दर्ता मिति र स्थानसहित गराउनुहोला ।
जानकारी गराउने इमेल ठेगानाः  inlsawardscommittee@inls.org, inlsboardoftrustees@inls.org

साथै थप जानकारीका लागि पत्राचार गर्न माथिको इमेल प्रयोग गर्नुहोला ।

प्रतिक्रिया