अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०२ | Colorodo: 13:17

भीषण युद्धमोर्चाका संस्मरण सङ्ग्रह ‘नलेखिएका गाथा’ को सार्वजनिक

धनन्जय बुढा २०७५ पुष २१ गते १४:२७ मा प्रकाशित

काठमाडौँ । जनयुद्धका एक कमान्डर प्रदीप वालाचनद्वारा लिखित भीषण युद्धमोर्चाका संस्मरण सङ्ग्रह ‘नलेखिएका गाथा’ को सार्वजनिक भएको छ । शनिवार संवाद डबलीमा थेबा बक्सले आयोजना गरेको कार्यक्रममा सो पुस्तक पूर्व सभामुख ओनसरी घर्तीले सार्वजनिक गरिन् । 

पुस्तक सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि घर्तीले बोल्दै, लेखक वालाचन एक इमानदार र प्रतिबद्ध युद्ध कमान्डर भएको र उनले युद्धमा भएका सत्य भोगाई लाई जस्ताको तस्तै उतारेको बताइन् । घर्तीले दश वर्षे जनयुद्ध विश्वको क्रान्तिकारी आन्दोलनको इतिहासमा नितान्त नयाँ मोडल भएको र यसको योगदान भुल्न नहुनेमा जोड दिँदै भनिन्,“हजारौँ योद्धाहरूले गरेको बलिदानले यो अवस्था आएको छ, प्रदीप जी जस्तै बाँचेका योद्धाले भावी पुस्ताको लागि कलम चलाई राख्नु पर्छ ।”

पुस्तकका लेखक प्रदीप वालाचन्ले आफूले कुनै विशेष साहित्यिक बिदाका मूल्य र मान्यताहरूलाई ध्यान पु¥याएर लेखेको भन्दा पनि युद्धमा भएका अनुभूतिलाई सँगालेको धारण व्यक्त गरे । उनले अगाडी भने, “हिजो युद्धमा जे देखियो भोगियो त्यही लेखियो, आन्दोलनमा आन्दोलनकारीले जेले भेट्यो त्यहिले हान्ने जस्तै गरी लेखेको छु ।” हिजोको सत्य इतिहास नमरोस,सुन्दर सपना बोकेर हिँडेका सहिद तथा घाइतेका योगदान गुमनाम नहोस् भनेर सो किताब लेखेको पनि बताए । साथै वालाचनले एक छुट्टै प्रसङ्गमा बहुपहिचान तथा मिश्रित सङ्घीयताको कुरालाई हटाएर भौगोलिक नामबाट प्रदेश नामकरणको अभियान दुखद भएको धारणा पनि राखे ।

त्यस्तै संस्कृतिकर्मी तथा नेकपाका युवा नेता बलराम तिमल्सिनाले लेखक वालाचन असाध्यै मिलनसार र मेहनती व्यक्तिकारुपमा चिनेको धारणा व्यक्त गर्दै सो किताब भावी युवा पिँढीलाई उपयोगी हुने गरेर लेखेको पनि बताए । तिमल्सिनाले हिजो भन्दा आज राजनीतिक परिपाटी झन् बिग्रेर गएको बताउँदै भने, “अहिले सुँगुरको खोरमा मुन्टो तल राखेर खुट्टा माथि राखेको अवस्था जस्तै भएको छ, त्यसको बारेमा पनि स्रष्टाहरूले लेख्ने बेला आएको छ ।”

त्यस्तै, युवा नेता सरल सहयात्रीले पनि वालाचनको रचना जनयुद्धमा भएका वास्तविक घटनाको ऐना जस्तै अनुभव गरेको धारणा राखे । उनेले भने, “प्रदीप एक जना ज्युँदो सहिद हो उहाँ जस्तै हजारौँ सहिद छन् , जसले परिवर्तन हुनसक्छ भन्ने विश्वास लिएर युद्धमा निशर्त हाम फालेका थिए, काश त्यसो हुन सकेन, तर पनि यस किताबले हामीलाई क्रान्ति पुरा गर्न ब्युँझाइरहने छ, अरूले पनि पहल लिने प्रयास गर्नु पर्छ ।” 

सम्बन्धित सामग्रीहरू