अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३९ | Colorodo: 21:54

अधिकार नै नपाएकाहरूले टिकट बिक्री गरिहेका छन्: सुबि इन्टरटेनमेन्ट

बिआटिनेपाल संवाददाता, टेक्सस २०७५ पुष ४ गते १२:२६ मा प्रकाशित

अमेरिकामा गायक तथा सङ्गीतकार कालीप्रसादका लागि विवाद

टिकट बिक्री गरिसकेका छौ: नमो नमस्ते

नयाँ वर्ष २०१९ को उपलक्ष्यमा गायक तथा सङ्गीतकार कालीप्रसाद बास्कोटालाई लिएर टेक्ससको अस्टिनमा साङ्गीतिक कार्यक्रम कसले गर्ने भन्ने विवाद चुलिएको छ ।

टेक्ससको डी एन्ड डी मुभिजका सिइओ सुवास थापाले कालीप्रसाद साङ्गीतिक साँझ आयोजना गर्न आफूले न्यु योर्कको सुबि इन्टरटेनमेन्टसँग सम्झौता गरिसकेको बताए । ‘कालीप्रसाद बास्कोटालाई सुबि इन्टरटेनमेन्टले अमेरिका ल्याउने भएको हो,’ उनले भने ‘उक्त कम्पनी र मेरो कम्पनीबिच टेक्ससको अस्टिनमा कालीप्रसाद साङ्गीतिक साँझ गर्ने सम्झौता भइसकेको छ ।’

उनले नमो नमस्ते नामक कम्पनीले ‘अनधिकृत’ रूपमा र ‘दादागिरी’ शैलीमा कालीप्रसाद र अर्का गायक समीर आचार्यको साङ्गीतिक साँझ गर्ने भन्दै पोस्टर बनाएर प्रचार प्रसार गरेको तथा टिकट समेत बिक्री गरेको बताए । ‘अस्टिनमा कालीप्रसाद साङ्गीतिक साँझको आधिकारिक आयोजक म हू,’ उनले भने, ‘नमो नमस्ते भन्ने कम्पनी त दर्ता समेत गरिएको छैन ।’ सुवास थापा ‘बिर्खेलाई चिन्छस्’ फिल्मका नायक हुन् । फेसबुक, ब्रेक फेल र केही मेरो जस्ता फिल्ममा अभिनय गरिसकेका थापा फिल्म प्रोड्युसर पनि हुन् ।

नमो नमस्तेको एक जना सञ्चालक प्रिन्स भट्टले कालीप्रसादलाई लिएर प्रचार प्रसार गरिरहेको मात्र नभएर टिकट समेत बिक्री गरिरहेको बताए । ‘हामी कार्यक्रम गरेरै छाड्छौँ,’ उनले भने, ‘टिकट समेत बिक्री भइसकेको छ ।’

भट्टले नमो नमस्तेको ५ जना सदस्यमध्ये थापा एक जना रहेको र उनले पछि धोका दिएर आफै कार्यक्रम गर्न खोजेको आरोप लगाए । ‘सुवास पब्लिसिटी र प्ल्याटफर्मको भोको रहेछ । कार्यक्रमको भन्दा आफ्नो र आफ्नो फिल्मको पब्लिसिटी बढी गर्न खोजेपछि कुरा मिलेन,’ उनले भने, ‘हामी अस्टिनमा ४/५ वर्षदेखि यस्ता कार्यक्रम गर्दै आएका छौँ र कालीप्रसाद बास्कोटासँग विवादका विषयमा कुराकानी पनि गरिसकेका छौँ ।’

थापाले भने भट्ट र नमो नमस्तेका अर्का सञ्चालक सनद कुवरले आफू खुसी ब्यानर बनाएको, सोध्दै नसोधी त्यसमा विवादित गायकको फोटो पनि राखेको र त्यसलाई हटाउन नमानेपछि आफूले सँगै काम गर्न नसकेको बताए । ‘प्रिन्स र सनद भाइलाई मैले कालीप्रसाद साङ्गीतिक साँझ कार्यक्रमको कोअर्डिनेटर बन्ने मौका दिएको हो,’ उनले भने ‘तर, गीतै विवादमा परेको गायक समेत राखेर पोस्टर बनाउने जस्ता आफू खुसी काम गर्न थालेपछि कुरा मिलेन ।’

थापाले न्यु योर्कको सुबि इन्टरनेशनलले कालीप्रसाद बास्कोटासँग अमेरिकामा कार्यक्रम गर्ने सम्झौता गरेको र आफ्नो कम्पनी डी एन्ड डी मुभिजले सुबि इन्टरनेशनलसँग अस्टिनमा कार्यक्रम गर्ने सम्झौता गरेको बताए । उनले सम्झौता नै नगरेको कम्पनीले कालीप्रसादका नाममा टिकट बेच्नु व्यवसायिकता नभएको बताए । भट्टले भने टिकट बेच्न सुरु गरेपछि र हल समेत भाडामा लिएपछि थापाले धोका दिएको जिकिर गरे । ‘हामीले कालीप्रसादसँग कुरा गरिसकेका छौँ,’ उनले भने, ‘उहाँले लिखत सम्झौता कसैसँग गर्नुभएको छैन ।’

सुबि इन्टरनेशनका एमडी सूर्य खड्काले भने आफ्नो कम्पनीले कालीप्रसादसँग सम्झौता गरिसकेको बताए । ‘कालीप्रसाद जीलाई मैले अमेरिका ल्याउन लागेको हो,’ उनले भने, ‘अस्टिनमा कालीप्रसादलाई लिएर कार्यक्रम गर्ने जिम्मा मैले सुवासजीलाई दिएको हो । अरूले किन टिकट बेचिरहेका छन् मलाई थाह छैन । त्यसले उनीहरू नै बदनाम हुन्छन् ।’

गायक तथा सङ्गीतकार कालीप्रसाद बास्कोटाको प्रोमो भिडियो

प्रतिक्रिया