अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

कास्की निर्वाचन क्षेत्र नं १ मा छनौट भएका आयोजनाहरु सार्वजनिक

बिआरटीनेपाल २०७५ मंसिर ४ गते ८:५० मा प्रकाशित

कास्कीको निर्वाचन क्षेत्र नं १ मा छनौट भएका आयोजनाहरु सार्वजनिक गरिएको छ । पोखरामा आज पत्रकार सम्मेलन गरी कार्यक्रमहरु सार्वजनिक गरिएको हो । कार्यक्रममा जिल्लाको उक्त निर्वाचन क्षेत्रमा पर्ने रुपा गाउँपालिका र मादी गाउँपालिका तथा पोखरा महानगरपालिकाको केही वडाभित्र स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको ४ करोड रुपैयाँ प्राप्त बजेटको आयोजना बाँडफाँड गरि सिफारिस एवं छनौट गरिएका आयोजनाहरु सार्वजनिक गरिएको हो । कास्कीको निर्वाचन क्षेत्र १ नं का प्रतिनिधिसभा सांसद खगराज अधिकारीले कार्यक्रमहरु सार्वजनिक गर्नुभएको हो ।

नेपाल राजपत्रमा गत असोज १७ गते प्रकाशित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचनाअनुसार स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम संचालन कार्यविधि नियमावली ०७५ बमोजिम कास्कीको १ नं क्षेत्र विकास आयोजनाबारे परामर्श समितिको बैठक बसेको थियो ।

बैठकबाट सिफारिस समेतलाई केन्द्रीत गरेर रुपा गाउँपालिका, मादी गाउँपालिका र पोखरा महानगरपालिका प्रमुख र परामर्श समितिका सदस्यहरुको सल्लाहका आधारमा कार्तिकको २५ गते बसेको निर्देशन समितिको बैठकले आयोजनाहरुको छनौट र सिफारिस गरेको सांसद अधिकारीले जानकारी दिनुभयो । जसअनुसार सबैभन्दा ठूला आयोजनामध्ये मादी–१ को सम्पदा मार्ग (ताङतिङ–क्होंलासोथर) सडक छनौटमा परेको छ । उक्त आयोजनाका लागि ७० लाख विनियोजन गरिएको छ ।

पोखरा–३० को लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था छनौटमा परेको छ । उक्त आयोजनाका लागि ५० लाख विनियोजन गरिएको छ । पोखरा २९ र ३० वडाभित्र पर्ने शिशुवा– आदर्शचोक सडक र पोखरा–३२ को राधाकृष्ण बृद्धाश्रम भवन निर्माणका लागि समान १५ लाख विनियोजन गरिएको छ ।अन्य योजनाहरुमा पोखरा–१२ को ढिकालेथर शिवमार्ग सडक, पोखरा–१३ को रतन पाण्डे मावि, पोखरा–१४ कदममार्ग सडक, पोखरा–२७ कृषि उपज संकलन केन्द्र तालचोक र पोखरा–२८, स्याङ्खुदी–अधिना– भुर्तेल गाउँ सडकमार्गका लागि समान एक लाख विनियोजन रकम छुट्याइएको छ ।

त्यसैगरी, पोखरा–१० को सोलार बत्ती जडान, पोखरा–२८ को विजयपुर–सुनपँदाली–सुर्के मैदान सडक, मादी–९ को हिमालय मावि, गोर्जे, मादी–४ को ध्रुब मावि, तारकाङ, मादी–३ को सिताराम मावि, याङ्जाकोट मादी–१ को अन्नपूर्ण मावि, सिक्लेस र रुपा गाउँपालिकाको रामकोट–रामादी सडक, विश्वशान्ति मावि, देउराली र गाउँफर्क मावि, सिद्धका लागि समान १० लाख विनियोजन गरिएको छ । विद्यालयहरुका लागि विनियोजन गरिएका रकम भवन निर्माण तथा पूर्वाधारका लागि मात्र खर्च गरिने सांसद अधिकारीले बताउनुभयो ।

कार्यक्रममा रुपमा उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित गण्डकी प्रदेश सांसदहरु दिपक कोइराला, मनबहादुर गुरुङ, रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा.र मादी गाउँपालिका अध्यक्ष बेलबहादुर गुरुङलगायत परामर्श समितिका सदस्यहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू