अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२४ | Colorodo: 01:39

नाफा साहित्य साँझ सम्पन्न

बिआरटीनेपाल २०७५ मंसिर ३ गते १४:१२ मा प्रकाशित

मेडिसनमा देवकोटा र मल्लको सम्झना

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एक मात्र संस्था “नेपाली अमेरिकन मैत्री सङ्घ” ( नाफा), ले शनिवार चौधौँ “नाफा साहित्यिक साँझ -२०७५” को आयोजना गरेको छ |लक्ष्मी जयन्तीको अवसर परेर आयोजना गरिएको उक्त साँझ नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटा र साहित्यकार विजय मल्लको सम्झनामा गरिएको हो ।

कार्यक्रममा नाफा बाल साहित्य प्रतियोगिता तर्फ काव्य लामिछाने, सान्वी पाण्डे, जुना रिजाल, आन्या पाण्डे, ओपल शर्मा, आशुतोष अधिकारी, खुसी श्रेष्ठ, आर्यमन पसछें, अनित्या द्वा, अरिना उप्रेती, बेलिस्मा श्रेष्ठ, युजेन थापा, सुहानी पाण्डे, ओजस्वी पसछें र ईसीता लुइँटेलले प्रतियोगी कविता वाचन गरेका थिए | बाचित कविता मध्यबाट एरिना उप्रेती, खुसी श्रेष्ठ र जुना रिजाल क्रमशः: प्रथम, द्वितीय र तृतीय भई नगद अमेरिकी डलर ७५, ५० र ३० पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसै गरी विजय मल्ल कविता प्रतियोगिता तर्फ एकबहादुर क्षेत्री, मित्र पौडेल, अर्चना धाक्वा, बिन्दु तिमल्सिना, अर्जुन ध्वज खड्का, नारायणदास मल्ल, अप्सरा गिरी भारती, कल्पना रिजाल, अबिमन पसछें, प्रदीप केसी, रोशा पोख्रेल, सुषमा श्रेष्ठ, लेखनाथ काफ्ले, गङ्गा मल्ल श्रेष्ठ र विश्व जीत अधिकारीले सहभागिता जनाएका थिए | जसमा गङ्गा मल्ल श्रेष्ठ, अप्सरा गिरी भारती र विश्व जीत अधिकारीले क्रमशः पहिलो दोस्रो र तेस्रो भई नगद १५०, १०० र ७५ अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् ।

उपन्यासकार सन्तोष लामिछानेको नवीनतम उपन्यासकार “अल्टिमेट आकाश”को लोकार्पण गरिएको उक्त कार्यक्रममा राजेन्द्र अर्याल, बैंकटेशदास शर्मा, पूर्ण श्रेष्ठ, युवराज तिमल्सिनालगायतले पनि कविता वाचन गरेका थिए ।

बेलायतबाट कार्यक्रमका लागि आएका कार्यक्रमका विशिष्ट अतिथि साहित्यकार कृष्ण बजगाईँले कृतिको समालोचनात्मक टिप्पणी गर्दै नेपाली डायास्पोरिक उपन्यासकारका क्षेत्रमा अल्टिमेट आकाशले महत्त्वपूर्ण स्थान बनाउन सफल होस् भन्ने शुभकामना पनि व्यक्त गरे । उनले उपन्यास भित्रका पात्रहरू नेपाली युवा विधार्थी रहेकाले उपन्यास पठनीय, रोचक र सन्देश मूलक भएको बताए । यसै गरी उपन्यासकार लामिछानेका पिता डा. भरत लामिछानेले कृति माथि टिप्पणी गर्दै उपन्यासको विषय बस्तु गत सबलता र भाषागत दुर्बलता माथि आफ्नो राय व्यक्त गरे ।

कार्यक्रमका अर्का विशिष्ट अतिथि वरिष्ठ लोक गायक प्रेमराजा महतले उपस्थित साहित्यकार, कला प्रेमी नेपाली समुदाय देखेर आफूले परदेशमा सानो नेपाल भेटेको बताए । नाफा साँझको आयोजना गरेर आयोजकहरूले परदेशमा नेपाली संस्कृतिको विकासमा टेवा पुर्‍याउने काम गरेकोमा खुसी हुँदै आफ्ना चर्चित गीत गएर सहभागीलाई नचाएका थिए ।

कार्यक्रममा साहित्यकार दिनार श्रेष्ठले नाफाको कार्यक्रमले सबैलाई नाफा गरेको बताउँदै आगामी दिनमा पनि यसले नेपाली भाषा साहित्य र सामाजिक कृयाकलापलाई नयाँ रूपले प्रस्तुत गर्दै लैजाने बताए ।

कार्यक्रमका प्रमुख साहित्यकार गोवर्द्धन पूजाले महाकवि देवकोटा र कथाकार विजय मल्लको साहित्यिक योगदान माथि चर्चा गर्दै प्रतिभा, ब्युत्पति र अभ्यासले सिर्जनात्मक लेखनमा महत्त्वपूर्ण भूमिका खेल्ने हुँदा सिर्जनात्मक लेखनमा निरन्तर अभ्यासको खाँचो रहने बताए । उनले विमोचित उपन्यासका उपन्यासकार सन्तोष लामिछानेलाई बधाई दिँदै विदेशी व्यस्त भूमिमा पनि उपन्यास जस्तो बृहत् आयतनको विधामा कलम चलाउने लामिछानेको सबैले मुक्त कण्ठले प्रशंसा गर्नु पर्ने बताए ।

साहित्यकार दिनार श्रेष्ठलाई “सगरमाथा प्रज्ञा पुरस्कार- २०७५” र पर्वत रेग्मीलाई “नाफा विशिष्ट युवा स्वमसेवक पुरस्कार -२०७५” प्रदान गरिएको उक्त कार्यक्रममा विजय मल्ल साहित्य पुरस्कारका संस्थापकका तर्फबाट विजय मल्लकी छोरी वन्दना मल्ल, नाफा बाल साहित्य पुरस्कारका तर्फबाट संस्थापक धन मल्लले मन्तव्य व्यक्त गरेका थिए भने आफ्नो उपन्यासका बारेमा बोल्दै सन्तोषले आमा धर्ती र बाबु आकाश भन्ने हाम्रो मान्यता अनुरूप आफूले अल्टिमेट आकाशका रूपमा आफ्नै बाबुलाई हेरेको बताएका थिए ।

कार्यक्रममा संयोजक कवि आविष्कार भारती र अहर्त द्वाद्वारा सञ्चालित करिब डेढ सय नेपालीको सहभागिता रहेको उक्त कार्यक्रम नाफाका अध्यक्ष साहित्यकार सन्तोष लामिछानेको सभापतित्वमा सम्पन्न भएको थियो ।

तस्बिर: बिपासन तुलाधर

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू