अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

क्यालिफोर्निया डढेलोः हालसम्म ५० जनाको मृत्यु, १०० भन्दा बढी अझै बेपत्ता

बिआरटीनेपाल २०७५ कार्तिक २८ गते ७:११ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । डढेंलोमा परी अझै १ सय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरुले जनाएका छन् । उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि अथक प्रयास जारी राखेता पनि प्रतिकूल मौसमका कारण डढेलो नियन्त्रणमा आउन नसकेको बताईएको छ ।

खोजीका क्रममा थप ८ जनाको शव फेला परेपछि मृत्यु हुनेको संख्या ५० पुगेको काउन्टीका प्रहरी अधिकारी सेरिफ कोरी होनेआले बताउनुभएको छ । यसअघि ४२ व्यक्तिको मृत्यु भएको बताइएको थियो ।

अमेरिकी सञ्चारमाध्यमले विभिन्न स्रोतहरुलाई उल्लेख गरी अझैपनि १०० भन्दा बढी व्यक्ति बेपत्ता रहेको जनाएका छन् । बेपत्ता व्यक्तिका खोजी, उद्धार र आगो निभाउने कार्यमा हजारौ अग्नि नियन्त्रकहरु परिचालन गरिएको र उनीहरुले आफ्नो ज्यानको बाजी लगाएर उद्धार कार्य जारी राखेको सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।

जङ्गलमा विगत लामो समयदेखि आगो लागिरहेको बताइएको छ । समय समयमा सरकारले आगो निभाएको बताए पनि पूर्णरुपमा जङ्गलको डढेलो नियन्त्रणमा आउन सकेको छैन । डढेलोबाट खासगरी जङ्गलको आसपास बसोबास गर्नेहरु सबैभन्दा बढी प्रभावित भएका छन् ।

प्रतिक्रिया