अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५३ | Colorodo: 09:08

अमेरिकी मध्यावधि निर्वाचन – दुवै सदनमा रिपब्लिकनको बहुमत आउन सक्ने मत सर्वेक्षण सार्वजनिक

बिआरटीनेपाल २०७५ कार्तिक १७ गते ९:१३ मा प्रकाशित

संयुक्त राज्य अमेरिकामा यही नोभेम्बर ६ अर्थात् कात्तिक ६ गते मङ्गलबारका दिन हुने मध्यावधि निर्वाचनलाई राष्ट्रपति डोनल्ड ट्रम्पको अग्निपरिक्षाको रुपमा हेर्न थालिएको छ । यो चुनाव अमेरिकी प्रतिनिधिसभा, माथिल्लो सदन सिनेट र राज्यका गभर्नरका निम्ति हुन लागेको हो । हाल अमेरिकी दुवै सदनमा बहुमतमा रहेको रिपब्लीकन पार्टीले आसन्न निर्वाचनमा बहुमत जोगाउने कसरतमा सम्पूर्ण शक्ति लगाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एवम् चुनावी मत सर्वेक्षणमा रिपब्लीकन पार्टीले फेरि दुवै सदनमा बहुमत ल्याउन सक्ने देखाएका छन् ।

अमेरिकामा ४३५ सदस्यीय तल्लो सदन प्रतिनिधिसभामा हाल रिपब्लीकन पार्टीको २३५ र डेमोक्रेटिक पार्टीको १९३ स्थान छ । ७ स्थान रिक्त छ । यस पटक यी सबै स्थानमा चुनाव हुँदैछ । तर १०० सदस्य रहने माथिल्लो सदन सिनेटमा ३५ स्थानका लागि चुनाव हुँदैछ । अमेरिकी नीति निर्माणमा निकै महत्वपूर्ण मानिने सिनेटमा हाल रिपब्लीकन पार्टीको ५१, डेमोक्रेटिक पार्टीको ४७ र स्वतन्त्र २ स्थान छ । अर्थात् सिनेटमा रिपब्लीकन पार्टीको बहुमत छ ।

यस चुनावमा ३५ स्थानका लागि मात्र चुनाव हुनेछ । अमेरिकी सिनेटमा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यका लागि चुनाव हुने संवैधानिक प्रावधान छ । यस चुनावमा डेमोक्रेटिक पार्टीले प्रतिनिधित्व गरेका २३ स्थान, रिपब्लीकनले प्रतिनिधित्व गरेका आठ स्थान र स्वतन्त्र दुई स्थानका लागि चुनाव हुनेछ । साथै रिक्त भएका दुई स्थानमा पनि चुनाव हुनेछ । यसैगरी, अमेरिकाका विभिन्न ३६ राज्य र तीन वटा अधिकृत क्षेत्र (टेरिटोरिज) मा गभर्नर पदका लागि चुनाव हुँदैछ ।

अमेरिकी संसदको चुनावको नतिजा खासगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि अत्यन्त महत्वपूर्ण रहेको छ । यो चुनावमा संसद्मा रिपब्लीकन पार्टीले बहुमत गुमाएमा राष्ट्रपति ट्रम्पका धेरैवटा महत्वाकाँक्षी योजना अलपत्र पर्ने बिश्लेषकहरुले बताएका छन् । डेमोक्रेटिक पार्टीले बहुमत हासिल गरेको खण्डमा राष्ट्रपति ट्रम्पमाथि सन् २०१६ को राष्ट्रपतीय चुनावका सम्बन्धमा भइरहेको छानबिनले नयाँ मोड लिने र अन्ततः संसद्मा महाभियोगको प्रस्तावसम्म आउने अड्कलबाजी भइरहेका छन् । यहि कारण राष्ट्रपति ट्रम्प दिनरात चुनावी प्रचारमा व्यस्त रहनुभएको छ ।

ट्रम्पले चुनावी सभामा खासगरी डेमोक्रेटिक पार्टीका सबैजसो नीतिको कडा शब्दमा आलोचना गरेका छन् । खासगरी उदार अर्थव्यवस्था र आप्रवासी नीतिमा डेमोक्रेटिक पार्टीले लिएका नीति मुलुकको अहितमा रहेको उहाँको ठम्याइ रहेको छ । होन्डुरसबाट पलायन भएका करिब सात हजार मानिस अमेरिका प्रवेश गर्ने भन्दै मेक्सिको–अमेरिका सीमातर्फ अघि बढेको र तिनीहरुलाई डेमोक्रेटिक पार्टीले मद्दत गरेको ट्रम्पको आरोप छ । आप्रवासीका सम्बन्धमा आफ्ना नीतिको कार्यान्वयन गर्न ट्रम्पसँग संसदको बहुमत आफूसँग हुनुको विकल्प नरहेको जनाईएको छ ।

यसैवीच, फाइनान्सीयल टाइम्सले गरेको पछिल्लो मतसर्वेक्षणमा अमेरिकी संसद्को दुवै सदनमा रिपब्लीकन पार्टीले झिनो बहुमत हासिल गर्ने सम्भावना रहेको देखाएको छ । अमेरिकी सिनेटमा यसपटक चुनाव हुने ३५ स्थानमध्ये २३ स्थान डेमोक्रेटिक पार्टीका भएकाले उसलाई आफ्नो स्थान जोगाउनुपर्ने चुनौती मात्र होइन रिपब्लीकन पार्टीले जितेका स्थान पनि जित्नुपर्ने चुनौती छ । फाइनान्सीयल टाइम्सका अनुसार डेमोक्रेटिक ले ४३ स्थानमा र रिपब्लीकनले ४९ स्थानमा विजयी हुने प्रबल सम्भावना छ । बाँकी ८ स्थानमा को विजयी हुन्छ, निर्णय गर्न कठिन रहेको जनाईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू