अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१६ | Colorodo: 15:31

जनसम्पर्क समिति अमेरिकाले चक्र बाँस्तोलालाई सम्झियो

सुमन हुँमागाई २०७५ कार्तिक ५ गते १६:०१ मा प्रकाशित

न्यु योर्क, अक्टोबर २० तारिख २०१८ का दिन नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाली काँग्रेसका नेता तथा पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं भारतका लागि नेपालका पूर्व राजदूत दिवङ्गत चक्रप्रसाद बाँस्तोलाको स्मृतिमा नेपाली काँग्रेसका प्रभावशाली नेता, पूर्व मन्त्री एवं केन्द्रीय सदस्य श्री रामशरण महतको प्रमुख आथित्यमा श्रद्धान्जलीसभाको आयोजना सम्पन्न गरेको छ । 

शोकसभामा प्रमुख अतिथि महतले चक्रप्रसाद बाँस्तोलाको निधनले, नेपालको राजनीतिले एक बौद्धिक, निष्कलङ्क, प्रखर र क्रान्तिकारी नेता गुमाएको कुरा बताउँदै, नेता बाँस्तोलाको निधनबाट नेपाली काँग्रेस, नेपालको लोकतान्त्रिक आन्दोलन र सिङगो मुलुकलाई नै अपूरणीय क्षति पुगेको कुरा राखेका थिए । नेपाली काँग्रेसले लिएको राजनीतिक र आर्थिक बाटोमा अहिले सिङगो मुलुक र मुलुकका प्राय सबै राजनीतिक पार्टीहरू आईपुगेको स्मरण गराउँदै, प्रमुख अतिथि महत्त्व लोकतान्त्रिक प्रकृयाबाट निर्माण भएको अहिलेको सरकारमा लोकतान्त्रिक चरित्र नभएको कुरा समेत औँल्याएका थिए । 

नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय महासचिव मुनीन्द्र नेम्बाङले सञ्चालन गरेको शोकसभाको कार्यक्रममा एनआरएनका पूर्व अध्यक्ष तथा कानुन व्यवसायी खगेन्द्र क्षेत्री, गुल्मी जिल्लाको काँग्रेस नेता त्रैलोक्य प्रताप सेन, जनसम्पर्क समितिका नेता वेद खरेल, कृष्ण बहादुर विष्ट, नेपाली जनसम्पर्क समिति न्यु योर्क च्याप्टरका उपसभापति अमर तामाङ, आदिवासी जनजाति महासङ्घ अमेरिकाका वरिष्ठ उपाध्यक्ष राजकुमार विष्ट, प्रवासी नेपाली मञ्चका महासचिव राधाकृष्ण देउजा, नेपाल अमेरिका कलाकार सङ्घका अध्यक्ष सुमन बुढामगर, तामाङ सोसायटी नर्थ अमेरिकाका अध्यक्ष लाक्यान लामा, मगरसंघ अमेरिकाका अध्यक्ष कुलदिप राना मगर, एनआरएन न्यु योर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी, एनआरएन आइसिसिका सदस्य वन्दना कोइराला, नेपाल अमेरिका पत्रकार सङ्घ नेजाका पूर्व अध्यक्ष तथा सलाहकार आङ छिरिङ शेर्पा, युनाइटेड किराँत राई एसोसिएसन न्यु योर्क च्याप्टरका अध्यक्ष केशव राम राई, सुदूरपश्चिम समाज अमेरिकाका अध्यक्ष गणेश विष्ट, गुरुङ समाजका अध्यक्ष डम्बर जङ्ग गुरुङ लगायतले दिवङ्गत नेता चक्रप्रसाद बँस्तोलाको राजनीतिक जीवन र योगदानको चर्चा गर्दै शोक मन्तव्य राखेका थिए ।

शोकसभामा नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य द्वय सुन्दर गुरुङ र सुवास तामाङ, न्यु योर्क च्याप्टरका महासचिव महेश मल्ल, दुर्गेश कार्की, सुरेन सापकोटा, शिव बानिया, मोहन श्रेष्ठ, सूर्य खड्का, विष्णु राना मगर, आंग निमा शेर्पा लगायतको पनि उपस्थिति रहेको थियो ।

अन्त्यमा नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले स्व. नेता बाँस्तोलाको निधन प्रति गहिरो शोक प्रकट गर्दै, उपस्थित सबैलाई धन्यवाद व्यक्त गरेर शोक सभा कार्यक्रमको समापन गरेका थिए ।

दिवङ्गत नेता चक्रप्रसाद बाँस्तोला ७४ वर्ष अगाडि नेपालको सुदुरपूर्वमा अवस्थित इलाम जिल्लाको लक्ष्मीपुर भन्ने गाउँमा बुवा कृष्णलाल बाँस्तोला र आमा चन्द्रकला बाँस्तोलाको कोखबाट वि.सं. २००३ साल मङ्सिर ११ गते जन्मिएका थिए । स्वर्गीय बाँस्तोला २०६९ साल पुस १४ गते मोरङको एक सार्वजनिक कार्यक्रममा गम्भीर मस्तिकघात भई अचेत अवस्थामा हुनु भएको थियो। करिब ६ वर्ष सम्म आफ्नै निवास ललितपुर जिल्लाको खुमलटारमा अचेत अवस्थामा उपचार गराई रहनु भएका पूर्व मन्त्री बाँस्तोलाको २०७५ साल असोज २७ गते उहाँ कै निवासमा निधन भएको थियो । झापा जिल्लाको बुधबारे हालको बुद्ध शान्ति गाउँ पालिकामा नेता बाँस्तोलाका परिवार इलामको लक्ष्मीपुरबाट तल झरेका हुन। विद्यार्थी जीवनदेखि नै बनारस हिन्दु विश्वविद्यालय अध्ययन गर्दा विपीबाट अति नै प्रभावित भएर आफ्नो राजनीतिक यात्रा प्रारम्भ गर्नु भएका दिवङ्गत नेता बाँस्तोलाले नेपाली काँग्रेसको नेतृत्वमा भएका हरेक आन्दोलन र सङ्घर्षमा अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो । २०१७ सालदेखि सक्रिय राजनीतिमा होमिएका नेता बाँस्तोला, २०३६ सालको आममाफी पश्चात् स्वदेश फर्कनु भएका थिए । नेपालमा लोकतन्त्रको प्राप्तिका लागि जेल जीवन र लामो समय प्रवासमा व्यतित गर्नु भएका नेता बाँस्तोलाले नेपाली काँग्रेसको नेतृत्वमा तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी) बिच १२ बुँदे समझदारी निर्माण गर्ने पृष्ठभूमि तयार गर्नमा समेत महत्त्वपूर्ण भूमिका खेलेका थिए । लोकतन्त्र प्राप्तिका निमित्त विमान अपहरण गरेर उति वेला एकाएक चर्चामा आएका दिवङ्गत नेता बाँस्तोलाको एक श्रीमती कुसुम बाँस्तोला र दुई वटी छोरीहरू सुस्मीता र अस्मिता छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय