अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०७ | Colorodo: 03:22

टेक्ससमा नेपाली भाषामा ड्राइभिङ परीक्षाका लागि अनुरोध

केसी शेर २०७५ असोज २३ गते १९:४३ मा प्रकाशित

अष्टिन (टेक्सस)– नेपाली प्रतिनिधिमण्डलको एक टोलीले मङ्गलवार टेक्सस राज्यका सेक्रेटरी रोनाल्डो पाव्लोस सँग भेटवार्ता गरेको छ ।

गैर आवासीय नेपाली सङ्घ अमेरिका टेक्सस च्याप्टरको नेतृत्वमा टेक्ससका विभिन्न सहरबाट नेपालीहरूको प्रतिनिधित्व गर्दै आएका नेपालीहरूको टोलीले अष्टिनस्थित क्यापिटल भवनमा पुगेर स्टेट सेक्रेटरी पाव्लोससँग भेटवार्ता गरेको हो । 

भेटवार्ताका क्रममा नेपाली प्रतिनिधिमण्डलले टेक्ससमा ड्राइभिङ लाइसेन्सका लागी लिइने परीक्षामा नेपाली भाषालाई पनि समावेश गर्न एक अनुरोध पत्र समेत बुझाएको छ । एनआरएन अमेरिका टेक्सस च्याप्टरका अध्यक्ष भानु खरेलले नेपाली समुदायको तर्फबाट मौखिक तथा लिखित रूपमा टेक्ससमा नेपालीहरू तथा नेपाली भाषीहरूको सङ्ख्या, अवस्था र भाषाका कारण पर्ने समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।

जवाफमा सेक्रेटरी पाव्लोसले नेपाली भाषामै ड्राइभिङ परीक्षाका लागी आफू सकारात्मक रहेको र त्यसका लागी नेपाली जानकार व्यक्तिहरूको एउटा टिम बनाएर यस बारेमा प्रक्रिया सुरु गरेमा आफूले सक्दो सहयोग गर्ने बचन दिनुभयो । अत्यन्त सकारात्मक रूपमा प्रस्तुत भएका सेक्रेटरी पाव्लोसले कुन तरिकाले अगाडी बढ्दा छिटो र सरल हुन्छ सो सहितको प्रस्ताव ल्याउन समेत अनुरोध गर्नुभयो ।

सेक्रेटरी पाव्लोसको सकारात्मक जवाफ पछि प्रतिक्रिया दिँदै एनआरएन टेक्सस च्याप्टर अध्यक्ष भानु खरेलले यो प्रक्रियाका लागी यो विषयमा विज्ञ व्यक्तिहरूको सहकार्यमा प्रक्रिया तत्काल सुरु गरिने बताउनुभयो । यस अघि नै अमेरिकाका भर्जिनिया लगायतका राज्यमा ड्राइभिङ लाइसेन्सको परीक्षा नेपाली भाषामै सुरु गरिसकिएकोले कसरी सहज र सम्भव भयो जानकारी लिएर त्यही अनुसार अघि बढ्ने अध्यक्ष खरेलले बताउनुभयो । 

टेक्सस पनि नेपालीहरूको बाक्लो बसोबास भएको राज्य हो । एनआरएन अमेरिका टेक्सस च्याप्टरको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा च्याप्टर अध्यक्ष खरेल सँगै महासचिव पदम ठकुराठी, कोषाध्यक्ष सतिष ओझा लगायत एनआरएन अमेरिकाका बोर्ड अफ डाइरेक्टर डा. अर्जुन बन्जाडे, प्रवक्ता विनोद कुमार तिवारी, जन सम्पर्क समिति अमेरिकाका उपसभापति सिपी पौडेल, ग्रेटर अष्टिन नेपाली सोसाइटीका अध्यक्ष देवराज न्यौपाने, उपाध्यक्ष भोजराज भट्ट, कोषाध्यक्ष विदुर खतिवडा, डा. कमल अधिकारी ग्यान्सका पूर्व अध्यक्ष तथा अष्टिनमा बन्न लागेको नेपाली सामुदायिक केन्द्रका संयोजक गेहेन्द्र केसी, सँगै ह्युष्टन नेपाली समाजको तर्फबाट सञ्चारकर्मी सुजन पण्डित, जगदीश काफ्ले, वरिष्ठ सञ्चारकर्मी/कलाकर्मी नारायण पुरी, नेपाल अमेरिका पत्रकार सङ्घ (ने जा)का कार्यक्रसमिती सदस्य शेर केसी सँगै सामाजिक अभियन्ता दीपक हुमागाईको सहभागिता रहेको थियो । 

सो अवसरमा अष्टिनमा नेपाली समुदायको आफ्नै सामुदायिक केन्द्र बनाउनका लागी सुरु गरिएको अभियानमा स्टेटको तर्फबाट केही गर्न सकिन्छ भनेर लिखित तथा मौखिक रूपमा अनुरोध गरिएको थियो । अष्ष्टिनमा नेपाली सामुदायिक केन्द्र निर्माण समिति सदस्य डा. कमल अधिकारीले सेक्रेटरी समक्ष प्रस्तुत गरेको नेपाली सामुदायिक केन्द्र बारेको प्रस्ताव पछि सेक्रेटरी पाव्लोसले यसका लागी आफूले केही गर्न नसक्ने भए पनि विभिन्न सल्लाह सुझावहरू दिनुभएको थियो ।

टेक्सस राज्यका विभिन्न सिटीका तथा स्थानीय स्तरमा सम्बन्धित व्यक्तिहरूलाई ड्राइभिङ लाइसेन्सको परीक्षा नेपाली भाषामा हुनुपर्ने नेपाली समुदायको माग राखेको भए पनि स्टेट सेक्रेटरी समक्ष पहिलो पटक अनुरोध गरिएको हो । डेलिगेसन टोलीमा सहभागी सबैले सेक्रेटरी पाव्लोस सँगको भेटघाट पछि नेपाली भाषामा ड्राइभिङ लाइसेन्सको परीक्षा नेपाली भाषामा हुनुपर्ने नेपाली समुदायको माग पुरा हुने सङ्केत मिलेको र त्यसका लागी आफूहरूको तर्फबाट पनि तत्काल कदम चाल्नुपर्नेमा जोड दिएका थिए ।

सेक्रेटरी पाव्लोसलाई नेपाली ढाका टोपी र बुद्धको मूर्ती उपहार
आफ्ना दुई बुँदे अनुरोध बोकेर गएको नेपाली प्रतिनिधिमण्डलले सेक्रेटरी पाव्लोसलाई नेपाली ढाका टोपी र बुद्धको मूर्ती उपहार दिएको छ । नेपालीहरूको सान गौतम बुद्धको मूर्ती तथा नेपाली ढाका टोपी उपहार ग्रहण गर्दै सेक्रेटरी पाव्लोसले नेपाली समुदायका प्रतिनिधिहरूसँगको भेट तथा उपहारका लागी धन्यवाद ज्ञापन गर्नुभएको थियो । 

प्रतिक्रिया