अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२८ | Colorodo: 23:43

सियाटलमा नेपाली भाषालाई कक्षा १२ सम्मको मान्यता प्राप्त गरेकोमा खुसी छु: डा लुइँटेल

बिआरटीनेपाल २०७५ असोज २२ गते १८:२७ मा प्रकाशित

गत शनिवारका दिन नेपाल सियाटल सोसाइटीको आयोजनामा किङ्ग कन्टी लाइब्रेरी सियाटलमा एक साहित्य कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सभापतित्व नेपाल सियाटल सोसाइटीका अध्यक्ष माधव भण्डारीले गर्नु भएको थियो । 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका नवनियुक्त अध्यक्ष श्री राधेश्याम लेकालीले नेपाली साहित्यलाई विश्व भरी नै नेपाली समुदायका माझ आफैँलाई सधैँ भरी छरी रहन मन लागेको बताउनु भएको छ । करिब ५० राष्ट्रमा रहेका नेपालीहरूलाई समेटेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले काम गरिरहेको बताउनु भयो ।

सियाटलमा नेपाली भाषालाई कक्षा १२ सम्मको मान्यता प्राप्त गरेको खुसी व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा. डा. खगेन्द्र लुइँटेलले नेपाली भाषाका विषयमा कुनै विवाद हुन नहुने र यसको नियम अनुसार सबैले चल्नु पर्ने कुरामा जोड दिनु भएको छ । यस सञ्जालले गरेका उपलब्धिहरूको विस्तृत रूपमा चर्चा गर्दै नेपाली भाषा साहित्यको अन्तरराष्ट्रियकरणमा विशेष जोड दिनु भयो । यसै सन्दर्भमा बिगारिँदै गएको नेपाली भाषा प्रति चिन्ता गर्दै नेपालको शैक्षिक पाठ्य पुस्तकहरूमा शुद्ध नेपाली भाषाको प्रयोग भएन भने आउँदो पिँढीले अशुद्ध भाषा प्रयोग गर्न बाध्य हुने भएको हुनाले सो नगर्न नेपाल सरकारलाई चेतावनी दिएको कुरा डा. लुइँटेलले बताउनु भयो ।

अमेरिकामा बसोबास गर्ने नेपाली भाषी भुटानीले भुटानी हुँ भनेर भन्नु पर्ने आवश्यकता छैन, नेपाली भाषी भएको हुनाले यसमा बिबेद गरी रहनु पर्ने आवश्यकता नभएको कुरा डा लुइँटेलले थप्नु भयो र सबै मिलेर नेपाली भाषा साहित्यको विकासको लागि काम गर्न आह्वान गर्नु भयो । संसारभरि जता बसे पनि आधारभूत रूपमा हामी नेपाली हौ र नेपाली भाषा साहित्य र संस्कृतिको जगेर्ना नै हाम्रो दायित्व हो ।

नेपाल र सियाटलको भौगोलिक, प्राकृतिक र भाषिकको सन्दर्भको चर्चा गर्दै एक नेपाली भाषा मान्यता प्राप्त स्टेट अर्को गुराँस राज्यको राष्ट्रिय फुल र नेपाल जस्तै भौगोलिक हिमाल, पहाड भएको भनेर चर्चा गर्नु भएको थियो । अमेरिकामा नेपाली पाठशाला खोलेर नेपाली भाषा पठन पाठन भएकोमा खुसी व्यक्त गर्दै यसको पाठ्यक्रम निर्माणमा सहयोग गर्ने बचन डा. लुइँटेलले दिनु भयो ।

उक्त कार्यक्रममा वासिङ्टन राज्यको लागि एसिया प्रशान्त क्षेत्रको कमिसनर श्री मोहन गुरुङले सबैले विदेशमा बसेर पनि नेपाली भाषालाई कसरी बचाउन सकिन्छ त्यो सोच्नु पर्ने भन्नु भएको छ । स्मरण रहोस् उहाँकै पहलमा वासिङ्टन राज्यमा नेपाली भाषालाई कक्षा १२ सम्म (४ क्रेडिट) को मान्यता प्राप्त भएको छ । यो अमेरिकाको पहिलो राज्य जसमा नेपाली भाषाले मान्यता प्राप्त गरेको छ ।

उक्त कार्यक्रममा डा. नवीन खनाल, अनिता पौडेल, देवी प्रसाद पौडेल, खड्ग सिवाकोटी, अन्जु छेत्री, यादव भट्टराई, गणेश सिवाकोटी, लीला श्रेष्ठ, भवानी सुबेदी, राम सापकोटा, प्रकाश धमला, गणेश देबकोटा, खेम राणा, फडिन्द्र अर्याल, सुरज रन्जितकार, लगायत व्यक्तिहरूको उपस्थिति थियो ।

निवर्तमान नेपाल सियाटल सोसायटीका अध्यक्ष श्री गणेश सिवाकोटीले, यहॉ जन्मने बच्चाहरूलाई साहित्यिक कार्यक्रमले नेपाली भाषा सिक्न धेरै मद्दत पुग्ने बताउनुभयो । लीला श्रेष्ठले आफ्नो कविता वाचन गर्नुभएको थियो भने रामचन्द्र सापकोटाले (हे भानुभक्त) नामको कविता, गजल तथा मुक्तक वाचन गर्नुभएको थियो । प्रकाश धमलाले आफूले रचना नलेखे पनि पढ्न र सुन्न बढी इच्छुक भएको बताउँदै नेपाली गाउँ खाने कथा सम्बन्धी क्वीज सञ्चालन गर्नुभएको थियो । जनेश देवकोटाले आफू साहित्यिक किताब बढी पढ्ने गरेको बताउँदै आफ्नो कविता प्रस्तुत गर्नुभएको थियो भने खेम रानाले आफ्नो साहित्यिक मन्तव्य रोमान्टिक पाराले प्रस्तुत गर्नुभएको थियो । त्यसै गरी भवानी सुवेदीले मुक्तक,गजल, कविता वाचन गर्नुभएको थियो । त्यस्तै सुरज रन्जितकारले कविता वाचन गर्नुभएको थियो । यसै क्रममा नेपाल सियाटल सोसायिटीका वर्तमान अध्यक्ष माधव भन्डारीले आफूले नलेखे पनि साहित्यमा विशेष रुचि भएको बताउनुभएको थियो । कार्यक्रमको सञ्चालन सुरज गौतमले गर्नु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू