अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०३ | Colorodo: 06:18

शङ्का

राधा रिजाल पोखरेल २०७५ असोज १७ गते १०:४२ मा प्रकाशित

हो मलाई अचेल रातको सौन्दर्य मन पर्दैन
मन पर्दैन जुनेली चहक र शीतलता
जुनकिरिको स्वतन्त्रताको मोहक नृत्य
झ्याउँकिरीको यौवनको सुरिलो गीत
बास बस्न हान थाप चीर्बिराइरहेका गौँथलीहरू
मस्त निस्पट्ट निदाइरहेको बेखबर सडक
मन नपर्ने भयको छ चन्द्रमा नियाल्ने बार्दली
त्यस्तै रातमा फुल्ने रातो रानी फुल र सुगन्ध
रातमा निदाउने कुकुर र लाटो कोसेराहरु |
बिरानो लाग्दै छन् चोक, गल्ली र सडक पेटी
त्रसित लाग्दैछन विद्यालय र मन्दिर
अनि आफ्नै घर पनि |
कलिला नानीहरूको शारीरिक अवयव लुछ्न पल्केका
नरभक्षी बाजको हुल हरपल वेग हानिरहन्छन् |
त्यसैले यो खुला आकाश पनि मन नपर्ने भयको छ |

भयावह लाग्दैछ हरेक नाता र सम्बन्धहरू
एकाएक कुरूप लाग्दैछ
पृथ्वीकै सुन्दर र सर्बश्रेत्ठ प्राणी
जो खोसीरहेकोछ ईश्वरबाट जन्म मृत्‍युको एकाधिकार
जफत गरिरहेको छ प्रकृतिको नियम
किन हरेक कुरामा शङ्का गर्न बाध्य तुल्याउँछ यो समाज ?
त्यसैले म शशंकित छु ।।।

हातमा हात बाँधेर खेलेको तातो आलु खेलसँग
कक्षामा पहिलो हुँदा टाउको भरी लगायको अबिरसँग
सबै भन्दा पहिला कक्षा कार्य सक्दा ढाड भरी सलबलायको स्याबासीसँग
बाद् विवाद प्रतियोगितामा प्रथम पुरस्कार थमाइदिने हातहरूसँग
अनुहारै नचिनिने गरी खेलेको उल्लासमय होलीको रङसँग
किन ?झुटा लाग्दैछन नैतिक शिक्षाका कथाहरू
किन ?वीरता शून्य लाग्दैछ इतिहासका गाथाहरू
अपत्यारिलो लाग्दै छ नालापानीको युद्ध
जसमा नारी पुरुष वृद्घ केटाकेटीले पानी पीइ एकसाथ लडेका थिए |
मननयोग्य छैनन् अचेल सामाजिक किताबका हरफहरू
हो मलाई विश्वास लाग्दैन सयपत्रीको
भरोसा लाग्दैन मखमली र सप्तरङी टिकामा
शङ्का छ कहिल्यै नअोइलिने दुबोमाथि
र जन्मदाता माथि ।।।
जब एक जिम्मेवार पुरुष बाटो बिराइ
पतनको बाटो रोजीरहेछन
तब सिँदुर पोते र मंगलसुत्र माथि शङ्का लाग्न थालेको छ |
थाहा छैन …
डर,त्रास,भय र शङ्का भरिएर विश्वास गुमायाको मेरो मन र
हरेक कुराहरूमा शङ्का गर्न बाध्य तुल्याउने यो समाजमा
दोषी को होला ??

घृणाकै लागी पनि योग्य लाग्दैन नियम कानुन
जन्मजातै ब्वाँसाहरूको झडपले अपाङ्ग बनायको विधान
जुन पल पल अयोग्य इज्जतको धज्जी उडाइ रहँदा
टुलु टुलु मुकदर्सक बनी रहेछ |
बरु उस्तै, उस्तै देखिदैछ
किशोरीहरूको सामूहिक बलात्कारपछिको यौङाङ्ग जस्तै
बेहाल,विक्षिप्त रगताम्य, हृदयबिदारक, पिडादायक
र अनि
सम्पूर्ण सबुद प्रमाण नामेट पारिएको, मेटिएको
कहिले दलहरू को पालो
कहिले डनहरूको पालो
कहिले भ्रस्टचारिको पालो
कहिले घुसखेरिको पालो
कहिले पुलिस प्रशासनको पालो
जहिले जसरी जहाँ जसले जुन तरिकाले मन लाग्यो
सोही अनुरूप भोग गरिरहेका छन्
बलात्कार माथि बलात्कार गरिरहेका छन्
संविधानको लाटो किताबमाथि
अपाङ्ग पेज माथि
विवादित हरफहरू माथि
फितलो दफा, धारा र उपधारा माथि
फरक मात्र यती छ कि
बलात्कार पछि किशोरीहरूको फोक्सो बन्द गराइयो
यो संविधानको ठेली दक्षिणतिरको छिमेकतिर बाट
एक मुठी हावा सापट मागी ढुकढुकी चलाई रहेछ |||

वाको, टेक्सस, अमेरिका |

प्रतिक्रिया