अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३० | Colorodo: 22:45

इरानमा सैनिक परेडमाथि आक्रमण, कम्तीमा ११ जनाको मृत्यु, कैयौं घाईते

बिआरटीनेपाल २०७५ असोज ६ गते ९:३४ मा प्रकाशित

इरानमा एउटा सैनिक परेडमाथि हतियारधारी आक्रमणकारीहरूले गरेको आक्रमणमा परी कम्तीमा ११ जनाको ज्यान गएको छ । इरानी सरकारी मिडियाले जनाएअनुसार उक्त घटनामा दर्जनौ घाईते भएका छन् । यद्यपि हताहतीको वास्तविक तथ्य भने हालसम्म सार्वजनिक हुन सकेको छैन । प्राप्त समाचारमा जनाईएअनुसार इरानको दक्षिणपश्चिमी सहर अह्वाजमा भइरहेको सैन्य परेडमा नजिकैको एउटा पार्कबाट गोली चलाइएको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणकारीहरू सैनिक पोशाकमा रहेका थिए ।

हतिायारधारीले १० मिनेटसम्म गोली चलाएको तर लगत्तै स्थिति नियन्त्रणमा आएको जनाईएको छ । घटनास्थलमा उक्त समय थुप्रै सर्वसाधारणको उपस्थिति रहेकोले हातहतिको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । आक्रमणकारीहरूले सर्वसाधारण र सैनिकहरूलाई लक्षित गरेर गोली चलाएको र उक्त परेड हेर्न त्यहाँ उपस्थित सर्वसाधारणहरू भुइँमा पल्टिएर ज्यान जोगाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

अह्वाज सहरमा गत वर्ष जनताको जीवनस्तरमा निरन्तर ह्रास आइरहेको भन्दै प्रदर्शन गरिएको थियो । इरानले इराक विरुद्ध संघर्षको सुरुवातको ३७ औँ वर्षगांठ मनाइरहेको छ । त्यस उपलक्षमा त्यहाँ विभिन्न स्थानमा सैनिक परेड प्रदर्शन गरिँदैछ । यो इरानी भूमिमा भएको पहिलो चरमपन्थी आक्रमण भने होइन । गत जुनमा इस्लामिक स्टेटका आत्मघाती बम आक्रमणकारीहरूले इरानी संसद र तेहरानस्थित इरानका सवोच्च नेता आयतुल्लाह खोमेनीको समाधिमा आक्रमण गर्दा १८ जनाको ज्यान गएको थियो । हालैका दिनहरूमा यस्ता आक्रमणहरू कुर्दिश तथा बलोच पृथकतावादी संगठनसम्बद्ध व्यक्तिहरूबाट भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू