अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०२ | Colorodo: 22:17

बोष्टनको साहित्यिक कार्यक्रम बिच राज मित्र पुरस्कार सुबेदीलाई

यम पौडेल, बोस्टन २०७५ भदौ २४ गते ९:३० मा प्रकाशित

अर्को वर्ष देखि बोष्टन बाहिरका लाई पनि प्रदान गरिने
अमेरिकाको बोष्टनमा सम्मान तथा साहित्यिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । आजै सेप्टेम्बर ८ ,२०१८ का दिन अनेसास बोष्टन तथा राज मित्र स्मृति प्रज्ञा प्रतिष्ठानको आयोजनामा मा राज मित्र प्राङगण माल्देनमा आयोजित कार्यक्रममा अनेसास केन्द्रको सचिवमा निर्वाचित तथा अनेसास बोष्टनका अध्यक्ष कवि लाल गोपाल सुबेदी लाई राज मित्र स्मृति प्रज्ञा पुरस्कार व्दारा सम्मान गरियो । २५१ डलर नगद, सम्मान पत्र सहित फुलमालाले सम्मान गर्दै उहाँको योगदानको बारेमा बताइएको थियो । सोही कार्यक्रममा बोष्टन च्याप्टरबाट आजीवन सदस्यता लिएका १८ जना कवि साहित्यप्रेमीलाई प्रमुख अतिथि बाट आजीवन सदस्यता प्रदान गरियो । कोलोराडो देखि आएर कार्यक्रमको प्रमुख आतिथ्यता गरेका अनेसास केन्द्र का वर्तमान अध्यक्ष पदम विश्वकर्मालाई पनि उहाँको योगदानको उल्लेख गर्दै विशेष सम्मान गरिएको थियो । सो अवसरमा बोल्दै श्री विश्वकर्माले १९९१ जनवरी ११ मा स्थापना भएको अनेसासलाई विश्वव्यापी गर्ने आफूहरूको एउटै मात्र स्वार्थ भएकोले यसैमा सरिक हुन सबै नेपाली भाषा साहित्यप्रेमी लाई आव्हान गर्नुभयो । 

अनेसास बोष्टनका पूर्व अध्यक्ष तथा राज मित्र स्मृति प्रज्ञा पुरस्कार का सभापति कवि हरि काफ्ले शैवको सभापतित्व र उप सभापति/कार्यक्रम संयोजक यम पौडेलको कवितामय वातावरणमा सञ्चालन भएको कार्यक्रममा राज मित्र स्मृति प्रज्ञा पुरस्कारका संस्थापक सुशील नेपालले पुरस्कृत व्यक्तित्वलाई बधाई दिँदै पुरस्कार स्थापना को बारेमा प्रकाश पारेका थिए । स्मरण रहोस्: प्रजातन्त्र प्राप्तिको लागी २००७ साल अगावै देखि लडेका, रेडियो नेपाल का प्रथम समाचार वाचक, आफ्ना स्व. बाबा राजेन्द्र प्रसाद नेपाल तथा दिवँगत माता मित्रबिन्ध्याको श्रद्धा सम्झनामा ऊहाहरुको नाम जीवन्त राख्ने उद्देश्यले भाषा साहित्यप्रेमी छोरा बुहारी सुशील नेपाल तथा सुमन नेपाल ले मोती जयन्तीको अवसरमा सेप्टेम्बर ६, २०१४ मा यस पुरस्कारको स्थापना गरेका थिए । पहिलो पटक सेप्टेम्बर १९, २०१५ मा साहित्यकार भारती गौतमलाई यस पुरस्कार व्दारा सम्मान गरिएको थियो । दोस्रो पटक लेखक तथा साहित्यकार दिनेश राजभण्डारीलाई मिति सेप्टेम्बर २४, २०१६ मा सम्मान गरियो ।

तेस्रो पटक नोभेम्बर १८, २०१७ मा अनेसास केन्द्रका महासचिव गोवर्द्धन पूजालाई यस पुरस्कार प्रदान गरियो । यस पटक २ दर्जन भन्दा बढी कृति प्रकाशित गरिसकेका र नेपालमा प्रज्ञा प्रतिष्ठानबाट ३ पटक विजयी, युवा वर्ष मोतीराम पुरस्कार प्राप्त व्यक्तित्व सुबेदीलाई प्रदान गरिएको हो । यस प्रतिष्ठानले हालसम्म ग्रेटर बोष्टनमा रहेर नेपाली भाषा साहित्यको सेवामा समर्पित वर्षमा एकजनालाई सम्मान गर्दै आएकोमा अर्को वर्ष देखि ग्रेटर बोष्टन बाहिरकालाई पनि सम्मान गरिने कुरा संरक्षक सुशील नेपालले समारोहमा घोषणा गरे । अबदेखि वर्षमा २ जना स्रष्टालाई यस प्रकारले सम्मान गर्न पाउनुमा आफूलाई मातापिताको आशीर्वाद रहेको कुरा पनि संरक्षक नेपाल ले बताए ।

कार्यक्रममा कवि लाल गोपालले कवि मोतीराम भट्टको व्यक्तित्व र कृतित्वको बारे बताएका थिए भने राज मित्र पुरस्कार प्राप्तिले सबै साहित्यप्रेमीलाई सम्मान गरेको महसुस भएको पनि दोस्रो चरणमा बताए । सम्मानित व्यक्तित्व लाल गोपाल सुबेदीको बारेमा कार्यक्रमका सभापति हरि काफ्ले शैबले मन्तव्य राखेका थिए । पुरस्कार वितरण समारोह पछि क्रमशः: घत लाग्दा कविता रचना वाचनले हल जमेको थियो ।त्यस्ता कवि साहित्यकारहरूमा अनेसास केन्द्रका महासचिव गोवर्द्धन पूजा, केन्द्र कै सदस्य महेश्वर पन्त, नवनिर्वाचित केन्द्रका सदस्य अग्नि पराजुली, न्यु ह्याम्सायर च्याप्टरका अध्यक्ष कृष्ण गिरी, न्यु ह्याम्सायर च्याप्टरकै हरिमाया खतिवडा, कवि दीपा राई, कवि अनु शाह, कवि गण्डकी पुत्र, अनेसास बोष्टनका पूर्व अध्यक्ष अच्युत अधिकारी, कार्यक्रम सञ्चालक यम पौडेल, समेतका मार्मिक मार्मिक रचना समावेश थिए ।राज मित्र स्मृति प्रज्ञा पुरस्कारको कार्यक्रमलाई साथ दिने पारिवारिकै सदस्य साहित्यप्रेमी रबिमानसिह बस्नेतले क्यानडाबाट पठाएको कविता पनि समारोहमा सुनाइएको थियो ।साना बालबालिकालाई पनि नेपाली गीत कवितामा सरिक गराउने हेतुले सानी नानी सिम्रन पौडेलको गीतलाई स्थान दिइएको थियो । नेपाल सरकारका पूर्व सचिव बिव्दान रामचन्द्र पौडेल “ रम्घाली” ले पनि मोतीरामको बारेमा प्रकाश पार्दै आफ्ना छन्दमा लेखेका केही कविता वाचन गरेका थिए । 

बोष्टनमा रहेका नेपालीहरू कुनै पनि सामाजिक र सकारात्मक कार्यक्रममा सबैतिरबाट उल्लेख्य रूपमा जुटने परम्परा अनुरूप यस साहित्यिक कार्यक्रममा पनि सामाजिक क्षेत्रका धेरै नेपालीहरू सहभागी भएका थिए । ग्रेटर बोष्टन नेपाली कम्युनिटि, पशुपतिनाथ बुद्ध फाऊण्डेशन, एन आर एन बोष्टन, बोष्टन तमु समाज, विश्व महिला सञ्जाल एन डब्लु जी एन, आदिका पदाधिकारीहरू कार्यक्रमको अन्तिम सम्म बसेका थिए ।अन्तिममा प्रज्ञा पुरस्कारको तर्फबाट सुशील नेपालको परिवार तथा जिबिएनसि का सचिव समाजसेवी जाल प्रसाद घिमिरे समेतका साथीहरू खटेर व्यवस्था गरिएको नेपाली परिकार का प्रकारहरू ग्रहण पश्चात् सहभागीहरू बिदा भएका थिए । 

फोटो: अबि गजुरेल

प्रतिक्रिया