अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०१ | Colorodo: 15:16

वेगनासताल डुंगा दुर्घटनामा वेपत्ता सवैको शव फेला – ८ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ भदौ २४ गते ८:१२ मा प्रकाशित

पोखरा महानगरपालिकाको बेगनासतालमा शनिबार अपरान्ह भएको डुंगा दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं २८ कालिकाका कृष्ण कुमारी वजगाँई र तनहुँ भिमादका जमुना गैह्रेको शनिबार नै मृत्यु भएको थियो भने बाँकी ६ जना बेपत्ता भएकाहरुको शव आइतबार भेटिएको हो ।

वेपत्ता भएकामध्ये नवलपरासीको गैडाकोटका ३२ वर्षीय रवि खनाल, उहाँका २ छोराहरु क्रमशः ७ वर्षका शंकर खनाल र ८ वर्षीय शिव खनाल, पोखरा २८ कालिकाका ५ वर्षीय प्राचिन पौडेल, भिमादका रञ्जित गैह्रेको मृत्यु भएको हो । शनिबार दिउँसो बेगनास डुंगाघाटबाट आफ्ना बालबच्चासहित १० जनाको समुह एउटै डुंगा लिएर बेगनासतालको सिरानतर्फ जाने क्रममा लिब्दी टुँडमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेका २ जनाको भने सकुशल उद्धार गरिएको थियो । उद्धार गरिएकाहरुमा सपना खनाल र निशा पौडल रहेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुले आइतबार बिहानैदेखि खोजी गर्दा हराइरहेका सबै ६ जनाको शव फेला परेको कास्की प्रहरी प्रवक्ता रविन्द«मान गुरुङले जानकारी दिनुभयो ।

बेगनासतालमा बेपत्ता भएकाहरुको खोजीका लागि शसस्त्र प्रहरीको कुरिनटारबाट गोताखोर टोली पोखरा आएको थियो । मृतक मध्ये रवि खनाल नेपाली सेनाको अमलेखगन्जस्थित जंगलवारफेयर स्कुलमा नेपाली सेनामा कार्यरत रहेको बताइएको छ ।

यसैवीच, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बेगनासतालमा शनिबार भएको अकल्पनीय डुंगा दुर्घटनाप्रति दुख व्यक्त गर्नुभएको छ । जिसीले आइतबार एक विज्ञप्ति प्रकाशित गरी घटनामा निधन भएकाको अमर आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको हो ।

डुंगामा यात्रा गर्दा अपनाउनु पर्ने सावधानी नपनाउँदा वर्षेनी यस्ता दुर्घटना पटकपटक भईरहेको मेयर जिसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दुर्घटनाप्रति महानगरको ध्यानाकर्षण भएको र जलयात्रामा अपनाउनुपर्ने सावधानी अपनाएर मात्र यात्रा गर्न आम नगरबासी र सबैमा विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू