अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२८ | Colorodo: 12:43

कर्मचारीतन्त्रमा रहेको मिलेमतो तोड्नुपर्छ – प्रचण्ड

बिआरटीनेपाल २०७५ भदौ १३ गते ९:१७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीतन्त्रमा रहेको निहित उद्देश्य सहितको मिलेमतो (सेटिङ) तोड्नुपर्ने वताउनुभएको छ । निर्माण व्यवसायी संघ चितवनको २५ औँ साधारणसभालाई सम्बोधन गर्दै प्रचण्डले ठूला विकास निर्माणको योजना एउटै निर्माण व्यवसायीलाई ठेक्का दिने मिलेमतो कर्मचारीबाटै हुने गरेको ठहर गर्नुभयो ।

आफूले सरकार र मन्त्रालयको सचिवलाई ठूला विकास निर्माण एउटैलाई दिन नहुने पटक पटक स्मरण गराएको उल्लेख गर्दै उहाँले साना- साना टुक्रामा ठेक्का दिंदा प्रतिस्पर्धामा छिटोछरितो काम हुने वताउनुभयो । भूकम्प र नाकाबन्दीका समयमा निर्माण व्यवसायीले काम गर्न नपाएको गुनासो विगतदेखि नै आएको बताउँदै उहाँले हर्जाना नलगाइकन एक वर्ष समय थप्न आफुले पहल गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । व्यवसायीले सरकारलाई र सरकारले व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउँदै अध्यक्ष प्रचण्डले निजी क्षेत्रले राज्य र कर्मचारीलाई कामचोर र घुस्याहा भन्ने, कर्मचारी र राज्यले निर्माण व्यवसायीलाई ठग भन्ने प्रवृत्ति विद्यमान रहेको उल्लेख गर्नुभयो ।

व्यवसायमा लाग्नेलाई राज्यले नाफाको सुनिश्चितता गर्नुपर्ने बताउँदै उहाँले निजी क्षेत्रलाई खुशी र सुरक्षित नगरी विकास र समृद्धि नआउने स्पष्ट पार्नुभयो । एक फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले महिला हिंसाका घटना बढेकाले यसप्रति सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू