अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

अमेरिकामा निधन भएका रुकुमेली मरिचमानका परिवारलाई आर्थिक सहयोग प्रदान

बिआरटीनेपाल २०७५ साउन १० गते ०:३९ मा प्रकाशित

टेक्सस (अमेरिका)– करिब तीन महिना अघि अमेरिकामा निधन भएका २८ वर्षीय मरिचमान बुढामगरको परिवारलाई राहत रकम प्रदान गरिएको छ ।

लामो समय अस्पतालमा उपचारको प्रयास गर्दा समेत मुटु र मृगौलाको समस्या निको नभएपछि मृत्युवरण गरेका मरिचमानको परिवारलाई राहत स्वरूप ५ लाख २१ हजार १ सय २१ रुपैयाँ प्रदान गरिएको हो । रुकुम घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका ७ गणेशपुर बसोबास गरिरहेका मरिचमानका परिवारलाई एक कार्यक्रमका बिच बुधवार सो रकम प्रदान गरिएको हो ।

अमेरिकामा रहेका पत्रकार तथा हिमाल पाटी अनलाइनका सम्पादक शेर के सी को व्यक्तिगत पहलमा गो फण्ड मी मार्फत सङ्कलन गरिएको सो रकम बराबरको चेक पत्रकार केसीकी आमा शशिली खत्री तथा धर्मपत्नी चाहना बस्नेत सँगै पीडित परिवार बसिरहेको गणेशपुरका वडा अध्यक्ष टोप बहादुर केसीले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बोल्दै वडा अध्यक्ष केसीले विदेशमा मृत्यु भएका परिवारका लागी सक्दो आर्थिक सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

धन्यवाद ज्ञापन
दुखको घडीमा पीडित परिवारलाई राहत प्रदान गर्न सहयोग गर्ने सबैप्रति पत्रकार केसीले धन्यवाद ज्ञापन गरेका छन् । मरिचमानको निधन भएको खबर पाएपछि सक्दो राहत सङ्कलन गर्न जुटेका पत्रकार केसीले सहयोग गर्ने गैर आवासीय नेपाली सङ्घ अमेरिका तथा यसका पदाधिकारीहरू, अमेरिकामा रहेका नेपालीहरू, नेपाली एसोसिएसन अफ नदर्न क्यालिफोर्निया तथा यसका सदस्य प्रेम राज केसी सँगै अन्य पदाधिकारी लगायत सबै सहयोगीहरूप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन् । पत्रकार केसी हालै नेपाल अमेरिका पत्रकार सङ्घको कार्यसमितिमा सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।

मृतकका मामाद्धारा आभार व्यक्त
मृतक मरिचमानका मामा अमेरिका बोष्टनमा रहेका चन्द्र बहादुर बुढामगरको दुखको घडीमा सहयोग प्रदान गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

साथै उनले सहयोग गर्ने गेमी तकसेरा समाज अमेरिका, लुकुमेली समाज अमेरिका, न्यु योर्क मगर समाज, रुकुमेली समाज, बाल्टिमोर मगर समाज लगायत सबैलाई धन्यवाद दिएका छन् । अमेरिका आएको करिब ७ वर्ष पछि मरिचमानको बाल्मिटमोरमा उपचारको क्रममा निधन भएको थियो ।

प्रतिक्रिया