अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 05:12

शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने अभियानमा सहभागी हुन नेकपा अध्यक्ष प्रचण्डको आह्वान

बिआरटीनेपाल २०७५ साउन ७ गते ८:३८ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने अभियानमा सहभागी हुन पूराना कम्युनिष्ट पार्टीका नेताहरुलाई आह्वान गर्नुभएको छ । अध्यक्ष प्रचण्डले देश र जनताको ऐतिहासिक आवश्यकता परिपूर्ति गर्न र विश्वमै शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने अवसर गुम्न नदिन पनि एकतामा आवद्ध नभएका कम्युनिष्ट पार्टी र नेताहरुलाई एकताको महाअभियानमा सहभागी हुन विशेष अपिल गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले प्रतिक्रान्तिकारी शक्तिहरु सल्बलाईरहेको भन्दै सचेत रहन र पार्टी भित्रको एकतालाई अझै सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिनुभएको छ ।

अध्यक्ष प्रचण्डले प्रतिक्रान्तिकारीको षड्यन्त्रलाई निष्तेज पार्न क्रान्तिकारी शक्तिहरु सधैं सचेत रहनुपर्ने वताउनुभयो । उहाँले मुलुकलाई समृद्ध बनाउने अभियान र कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउने अभियानका विरुद्ध षडयन्त्र भइरहेको दावी गर्दै त्यसलाई गहिरोसँग आत्मसात गरेर जनतासँगको सम्बन्धलाई बलियो बनाउँदै लैजानुपर्ने आवश्यक्ता औंल्याउनुभयो । त्यस अवसरमा अध्यक्ष प्रचण्डले पुष्पलाल श्रेष्ठको योगदानको पनि चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तहदेखि केन्द्रसम्म सुशासनको प्रत्याभूति दिलाउने काममा पार्टीको सिंंगो शक्ति परिचालन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पुष्पलाल श्रेष्ठले स्थापना गरेको पार्टीले ठूलो सफलता हात पारेको उल्लेख गर्दै त्यसलाई जोगाउन नसके त्यसले क्यान्सरको रुप लिन सक्ने तर्फ पनि नेता कार्यकर्ताहरुलाई सचेत गराउनुभयो । वरिष्ठ नेता नेपालले पार्टीको वर्चश्व रहेको स्थानीय तहमा भ्रष्टाचार मौलाएको गुनासो आउने गरेको भन्दै त्यसलाई बेलैमा नियन्त्रण गर्न पनि जोड दिनुपर्ने आवआवश्यकता औंल्याउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू