अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३६ | Colorodo: 01:51

कांग्रेसको अवरोध संसद बैठक अवरुद्ध, अर्को बैठक साउन ३ गते वस्ने

बिआरटीनेपाल २०७५ असार ३२ गते ८:१२ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सोमबारको संसद बैठक स्थगित भएको छ । आगामी बैठक साउन ३ गते दिउँसो १ बजे बस्ने छ । सोमबार बिहान बसेको बैठकमा नेपाली कांग्रेससहित अन्य दलका सांसदहरुले उठेर संसद बैठक अवरोध गरेपछि आधा घण्टाका लागि बैठक स्थगन गरिएको थियो ।

प्रतिनिधिसभाको आजको बैठकको सुरुवातमै कांग्रेसका सांसदहरुले आमरण अनशनरत डा. गोविन्द केसीमा माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै आसनबाट उठेर विरोध जनाएका थिए । दोस्रोपटक संसद बैठक सुरु गरिएपनि विपक्षी दलका सांसदहरुले पुनः उठेर संसद अवरुद्ध पारेपछि सभामुख कृष्णबहादुर महराले आजको बैठक स्थगित भएको जनाउँदै आगामी बैठक साउन ३ गते बस्ने जानकारी गराउनुभयो ।

बैठकमा वोल्दै कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले सरकारले माथेमा आयोगको भावना र मर्म्विपरितको चिकित्सा शिक्षा विधेयक सदनमा प्रस्तुत गर्न लागेको आरोप लगाउनुभयो । सांसद विश्वकर्माले विगतको सरकारले माथेमा आयोगको भावना र मर्मअनुसारका चिकित्सा शिक्षा आयोग अध्यादेश मार्फत जारी गरेको जानकारी गराउनुभयो ।

सभामुखको पटक÷पटकको आग्रहपछि पनि कांग्रेसका सांसद आसन ग्रहण नगरी उभिरहेपछि सभामुख कृष्णबहादुर महराले संसद् बैठक आधा घण्टाका लागि स्थगन गर्नुभएको थियो । सोही क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद कृष्णभक्त पोखरेलले नियमापत्ति जनाउँदै नियमित प्रक्रियाबाट नै विधेयक पेश हुने बताउँदै कसैले पनि संसदीय अभ्यासलाई मिच्न नहुने वताउनुभयो । साथै उहाँले संसद्मा अल्पमतले बहुमतलाई अवरोध गर्ने दृष्टान्त विश्वमा नै नरहेको उल्लेख गर्नुभयो ।

नेकपाका अर्का सांसद खगराज अधिकारीले प्रतिपक्ष दलसँग समेत छलफल गरेर सहमतिमा ल्याएको विधेयकलाई अघि बढाउन अवरोध गर्दा सहमति उल्लघंन भएको बताउँदै सभामुखले बोल्ने बेला कसैले पनि सदनमा बाधा गर्न नहुने नियमावलीमा व्यवस्था रहेको अवगत गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू