अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२८ | Colorodo: 04:43

भक्तपुरमा वाढी– डुबानमा एकै परिवारका ३ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ असार २८ गते ८:४९ मा प्रकाशित

बुधवार रातिदेखिको भीषण वर्षाले भक्तपुर डुबानमा परेको छ । डुबानमा परी एकै परिवारका तीनजनाको मृत्यु भएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार चाँगुनारायण नगरपालिका वडा नं ७ बागेश्वरीमा रहेको एउटा अस्थायी टहरामा रहेका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ७० वर्षीया हिरा लामा, ६५ वर्षीया दानमाया र दुई वर्षीया सम्पदा लामा रहेका छन् । उद्धार कार्य तीव्र रहेको प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिनुभएको छ । 

अविरल वर्षाका कारण हनुमन्ते र खासांखुसी खोलामा बाढी आएको छ । बाढीले खोला आसपासका क्षेत्र डुबानमा परेका छन् । गएरातिदेखि परेको अविरल वर्षाका कारण बिहान ३ बजेदेखि खोला आसपासका क्षेत्रको जल सतह बढेपछि खोला छेउछाउ बस्नेहरु विस्थापित भएका छन् ।

डुबानले च्याम्हासिहंबाट जगाती जाने पुल आसपासका क्षेत्र, महेश्वरी खेलमैदान, राममन्दिर क्षेत्र डुबानमा परेका छन् । डुबानका कारण रातिदेखि अवरुद्ध भएको जगातीदेखि च्याम्हासिंहसम्मको मोटरबाटो अपराह्न देखि भने खुलेको छ ।

त्यसै गरी निकोसेरा राधेराधे क्षेत्र पनि डुबानमा परेको छ । अस्थायी टहरा बनाइ बसिरहेका भूकम्प प्रभावित समुदाय यो बढीबाट बढी जोखिममा परेका छन् ।

बाढी टहरामा पसेदेखि उनीहरू रातिदेखि नै जाग्राम छन् । डुबानबाट पुरै जनजीवन अस्तव्यस्त भएको छ ।

भक्तपुरका स्थानीय अस्पतालहरू पनि डुबानमा पर्दा उपचाररत बिरामी, चिकित्सक आवतजावतमा समेत समस्या परेको मात्र नभई अस्पतालको पहिलो तल्लाको बिरामी राख्ने बेडसमेत डुबानमा परेपछि अस्पतालको आकस्मिक र नियमित सेवा अवरुद्ध भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू