अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१६ | Colorodo: 21:31

असारमा साकेला

बिआरटीनेपाल २०७५ असार १० गते २१:३७ मा प्रकाशित

युनाइटेड किराँत राई सोसाइटी अफ अमेरिका (युक्रा) न्यू योर्क च्याप्टरले किराँत राईहरूको महान् चाड साकेला (उभौली) असार ९ (जुन २३) मा क्वीन्सब्रिज पार्कमा मनाएको छ । साकेला दिउँसो करिब २ बजे किराँत परम्परा अनुसार पूजा गरी सुरु गरिएको थियो । न्यू ह्यामशायर, मेरिल्याण्ड र कोलोराडो लगायतका राज्यबाट किराँत राईहरू साकेलामा सहभागी हुन न्यू योर्क आएका थिए । यसअघि सोही पार्कमा किराँत राई सोसाइटी अफ अमेरिकाले गत वैशाख ३० (मे १३) मा उभौली सम्पन्न गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति महासङ्घका अध्यक्ष मानबहादुर रानामगर थिए भने विशेष अतिथि अमेरिकाका लागि नेपालका वाणिज्यदूत क्रिशु क्षेत्री थिए ।

उभौली र उधौली गरी साकेला वर्षको दुई पटक मनाइन्छ । उभौली गर्मी लाग्दै गर्दा र उधौली जाडो लाग्दै गर्दा मनाइन्छ । मौसम परिवर्तनसँगै गर्मी छल्न पहाडतिर उक्लने र जाडो छल्न तराईतिर झर्ने अभ्याससँग साकेला जोडिएको छ । प्रकृतिपुजक किराँत राई समुदायले साकेलामा नाचका माध्यमबाट संसार र आफ्नो उत्पत्ति तथा प्रकृतिसँगको सम्बन्धको कथा भन्छन् ।

प्रतिक्रिया