अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

१२ वटा सेतो परेवा आकाशमा उडाउँदै बर्कलीमा पाचौ शान्ति पदयात्रा सम्पन्न

बिआरटीनेपाल २०७५ जेठ ७ गते १०:०८ मा प्रकाशित

हिजो शनिवारको दिन नेपालको राष्ट्रिय विभूति “शान्तिका अग्रदुत, अहिंसाका प्रतीक ” भगवान् गौतम बुद्धको जन्मदिनको उपलक्ष्यमा हरेक वर्ष झैँ बुद्ध नेपाल पिस फाउन्डेसनले अयोजना गर्दै आएको पाचौ बुद्ध जयन्ती शान्ति पदयात्रा क्यालिफोर्नियाको बर्कली सहरमा भव्यताको साथ सम्पन्न भएको छ ।

बुद्ध नेपाल पिस फाउन्डेसनका अध्यक्ष चिनकाजी श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा बर्कली सिटी काउन्सिलका काउन्सिल मेम्बर चरिले डेभिला प्रमुख अतिथिको आसन ग्रहण गर्नु भएको थियो । साथै विशिष्ट अथितीमा, काउन्सिल मेम्बर बेन बर्लेट, महा बाणिज्यदुत ऋषि ढकाल, बर्कलीका समाजसेवी झासा स्वान्सोन डिस्ट्रिक ४ सी ३ अन्तर्राष्ट्रिय लायन्स क्लबका गभर्नर राजेन थापा, नेपाल टुरिजम बोर्डका प्रतिनिधि सन् फ्रान्सिस्को क्षेत्रका पर्यटन दूत घन प्रसाद दवाडी, अस्ट्रेलियाबाट आउनु भएका गुरु आचार्य राजन शर्मा, नेपालबाट आउनु भएका धर्म गुरु खेन्पो वागिन्द्र शील लगायत विशिष्ट आमन्त्रित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । नेपाल र अमेरिकाको राष्ट्रिय गान, गाउँदै भगवान् बुद्धको ज्ञान, शिक्षा, स्तुति र योग र ध्यान गर्दै कार्यक्रमको थालनी गरिएको थियो । कार्यक्रममा एक मिनेट मौन धारण गरेर शान्तिको लागि प्रार्थना समेत गरिएको थियो ।

डा. टिका लमसालद्वारा सञ्चालित कार्यक्रमममा महासचिव सुनिल राजकर्णिकारले स्वागत मन्तव्य दिनु भएको थियो भने पिस मार्चका संयोजक ध्रुव थापा र अध्यक्ष चिनकाजी श्रेष्ठले कार्यक्रमको जानकारी, उदेश्यबारे प्रकाश पार्दै सबै सङ्घ संस्था, पत्रकार, उपस्थित जन समुदाय, सहयोगी दाताहरु र उपस्थित महानुभावहरूलाई धन्यवाद दिनु भएको थियो ।

उपस्थित दुवै अमेरिकी सरकारको प्रतिनिधि सिटी काउन्सिल मेम्बरहरुले अहिलेको आवश्यकता भनेको शान्ति र भाइचारा हो र यसको थालनी ध्यान र योगले हासिल गर्न सक्छ जसको निम्ति बुद्धको दर्शन र ज्ञानले सम्भव छ भन्नु भएको थियो। साथै सबैलाई विविधतामा एकताको प्रतीक बर्क्ली सहरमा शान्ति पदयात्रालाई स्वागत गर्नु भएको थियो।

कार्यक्रममा विविध विषयमा विभिन्न व्यक्तित्वहरूले बुद्धको ज्ञान र शिक्षाको बारेमा आफ्नो धारणा राख्नु भएको थियो भने विविध झाकी र प्ले कार्ड बोकेर, लगभग दुईसयको हाराहारीमा उपस्थित शान्ति पदयात्रा सहभागीले लाखे नाच्दै शान्ति पदयात्रा बर्क्ली स्थित सिभिक सेन्टर पार्कबाट प्रारम्भ भई हिमालयन फेर हुँदै गरेको लाइभ ओके पार्कमा रहेको आमा फाउन्डेसन र करी विदाउट बरीको बुथमा गएर सम्पन्न भयेको थियो ।

शान्तिका अग्रदुत भगवान् बुद्धको सो शान्ति पदयात्राको थालनी नेपालबाट आउनु भएका धर्म गुरु खेन्पो वागिन्द्र शीलले प्रवचन दिनुभए पछि १२ वटा सेतो परेवा आकाशमा उडाएर गरिएको थियो।

कार्यक्रममा बे एरियाका विभिन्न सङ्घ संस्था, जन समुदाय र लस एञ्जलस र अस्ट्रेलियाबाट समेत आउनु भएको बुद्ध जयन्ती शान्ति पदयात्रामा सहभागी हुन् आउनु भएको थियो । आफ्नो मौलिक भेष भूषाका साथ सहभागी सबैले बुद्धको ज्ञान सम्बन्धी प्ले कार्ड बोकेर बर्कली सहर परिक्रमा गरिएको थियो ।

शान्तिको अग्रदूत अहिंसाका प्रतीक “गौतम बुद्ध नेपालको राष्ट्रिय विभूति हो त्यहीँ पबित्रभुमीमा जन्मेका हामी नेपाली यस अमेरिकी भूमिमापनि एकबद्ध भई सहकार्य गर्दै हिँड्दा हरेक नेपालीको शिर विश्व सामु ठाडो हुनेछ, छाती गर्वले प्रफुल्ल हुनेछ भन्दै संस्थाका अध्यक्ष चिनकाजी श्रेष्ठले सबैलाई आह्वान गर्नु भएको थियो ।

कार्यक्रमको दोस्रो चरण शान्ति पदयात्रा पछि बर्कली स्थित हिमालयन फ्लेभर रेस्टुरेन्टमा रात्रि भोज लगायत प्रबचन, कार्यक्रमको समीक्षा र स्वयम् सेवकहरुलाइ सम्मान गर्दै प्रमाण पत्र र कदर पत्र प्रदान गरिएको थियो । जसमा निरज रेग्मी र संजिव राणालाई महा बाणिज्यदुत ऋषि ढकालद्वारा कदरपत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रममा बुद्धिष्ट सोसाइटी अफ क्यालिफोर्नियाका अध्यक्ष राम लामा लगायत विभिन्न व्यक्तित्वहरूले आफ्नो मन्तव्य र बुद्धको बारेमा प्रबचन समेत दिइएको थियो ।

फोटो सौजन्य : गोविन्द शाही

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू